काठमाडौँ । आगामी चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सरकार तथा सरोकारवालाहरूको बैठकले सातवटा महत्वपूर्ण निर्णय गरेको छ।
चाडपर्वको समयमा घर फर्किने यात्रुको सुविधालाई मध्यनजर गर्दै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको छ।
यस्तै, सडकमा आवागमन सहज बनाउन ठूला सवारी साधनलाई घटस्थापना अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकखण्डमा सञ्चालन गर्न रोक लगाइने भएको छ।
तर खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई भने उक्त सडकखण्डमा आवतजावत गर्न रोक नलगाइने भएको छ।
यात्रुवाहक सवारी साधनको सहज सञ्चालनका लागि घटस्थापनादेखि पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक १० गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय पनि बैठकले गरेको छ।
उपत्यकाका प्रमुख नाकामा यात्रुको सहजीकरणका लागि यातायात व्यवस्था विभागबाट फोकल पर्सनसहितको टोली परिचालन गरिने भएको छ। यातायात व्यवसायीका तर्फबाट पनि सम्पर्क व्यक्ति खटाइनेछ।
त्यस्तै, नयाँ बसपार्क क्षेत्रमा मोबाइल नेटवर्कमा उच्च ट्राफिक देखिने भएकाले नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक कम्पनीलाई नेटवर्कको क्षमता अभिवृद्धि तथा विस्तारका लागि पत्राचार गर्ने निर्णय गरिएको छ।
चाडपर्वका बेला रिजर्भमा जाने सवारी साधन तथा यात्रुको विवरण अभिलेखीकरण गर्न यातायात व्यवस्था विभागले नमुना फाराम तयार गरी व्यवसायीलाई उपलब्ध गराउने भएको छ। व्यवसायीले उक्त फाराममा विवरण प्रविष्ट गरेपछि मात्र यातायात सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
साथै, सवारी साधनको फिटनेस जाँचका लागि नाडा र सिप्रदीलाई अनुरोध गर्ने निर्णय भएको छ। विभागका तर्फबाट टेकुस्थित सवारी परीक्षण कार्यालयबाट प्राविधिक कर्मचारीसमेत खटाइने भएको छ।
प्रतिक्रिया