काठमाडौँ । यस वर्षको बडादसैँमा काठमाडौं उपत्यका छाडेर घर जाने यात्रुहरूका लागि असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभागका पदाधिकारीबीच बसेको संयुक्त बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायतको उपस्थिति रहेको थियो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक पोखरेलले दसैँका बेला यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको जानकारी दिए।
दसैँको समयमा काठमाडौं उपत्यकाबाट देशका विभिन्न जिल्लातर्फ जाने यात्रुको अत्यधिक चाप हुने भएकाले अग्रिम टिकट बुकिङ, थप सवारीसाधनको व्यवस्थापन तथा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना लगायतका तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ।
यात्रुले सहज रूपमा टिकट पाउने, ठगी तथा बिचौलियाको सास्ती खेप्नुनपर्ने र सुरक्षित यात्रा गर्न सक्ने वातावरण बनाउन यातायात व्यवसायी, नेपाल प्रहरी तथा सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको महानिर्देशक पोखरेलले बताए।
प्रतिक्रिया