काठमाडौं । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना र जोखिमसमेत बढिरहेका बेला बुढानीलकण्ठ नगरपालिका–१ मा साइबर क्राइम तथा Artificial Intelligence (AI) सम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिका–१ को आयोजनामा तथा शुभम् मल्टिमिडियाको सहजीकरणमा २०८३/०६/०७ गते सेन्ट जेभियर्स इङ्लिस एकेडेमी, बुढानीलकण्ठ–१ मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालयका प्रधानाध्यापक, वडा जनप्रतिनिधि, अभिभावक, पत्रकार तथा सञ्चारकर्मी र स्थानीय सरोकारवालासहित २०५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रम वडा सदस्य बुद्धिमान लामाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य चण्डिका रैला अर्याल, सेन्ट जेभियर्स इङ्लिस एकेडेमीकी प्रधानाध्यापक राजकुमारी श्रेष्ठ, कार्यक्रम संयोजक कल्पना शर्मा, शिक्षक तथा प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा साइबर अपराध, अनलाइन ठगी, फिसिङ, साइबर बुलिङ, नक्कली सामाजिक सञ्जाल खाता, शंकास्पद लिंक, व्यक्तिगत विवरणको दुरुपयोग तथा सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोगका विषयमा प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक शैलेश कडेलले साइबर अपराधका विभिन्न स्वरूप, डिजिटल माध्यमबाट हुन सक्ने जोखिम तथा त्यसबाट सुरक्षित रहने व्यवहारिक उपायबारे सहभागीलाई जानकारी गराउनुभएको थियो। उहाँले सुरक्षित पासवर्ड निर्माण, व्यक्तिगत तथा शैक्षिक विवरणको सुरक्षा, शंकास्पद फोन, म्यासेज तथा लिंक पहिचान, अनलाइन कारोबारको सत्यापनलगायतका विषयमा उदाहरणसहित जानकारी दिनुभएको थियो।
साइबर अपराधको घटना भएमा प्रमाण सुरक्षित राख्ने, सम्बन्धित निकायमा जानकारी गराउने तथा आवश्यक कानुनी र प्राविधिक सहयोग लिनुपर्ने विषयमा समेत सहभागीलाई सचेत गराइएको थियो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष Artificial Intelligence अर्थात् AI सम्बन्धी प्रशिक्षण रहेको थियो। प्रशिक्षणमा AI को आधारभूत अवधारणा, यसको सामान्य कार्यप्रणाली तथा दैनिक जीवनमा यसको बढ्दो प्रयोगबारे जानकारी दिइएको थियो।
शिक्षा, अध्ययन, अनुसन्धान, सूचना संकलन, लेखन, फोटो, भिडियो तथा प्रस्तुतीकरणलगायत सिर्जनशील क्षेत्रमा AI को प्रयोग गर्न सकिने सम्भावनाबारे सहभागीलाई जानकारी गराउँदै AI बाट प्राप्त सामग्रीको तथ्य तथा विश्वसनीयता परीक्षण गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
AI प्रयोग गर्दा व्यक्तिगत तथा गोप्य विवरण सुरक्षित राख्नुपर्ने, Copyright तथा Intellectual Property को सम्मान गर्नुपर्ने र शैक्षिक कार्यमा Academic Integrity कायम गर्नुपर्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो। Fake News तथा Deepfake जस्ता भ्रामक सामग्री पहिचान गर्दा स्रोत, तथ्य, सन्दर्भ र विश्वसनीयता जाँच गर्नुपर्ने विषयलाई पनि उदाहरणसहित प्रस्तुत गरिएको थियो।
कार्यक्रममा AI को प्रत्यक्ष Demo समेत प्रस्तुत गरिएको थियो। यसबाट विद्यार्थी तथा शिक्षकहरूले AI को प्रयोग कसरी गर्ने, यसका सम्भावना के–के छन् र प्रयोग गर्दा कस्ता सावधानी अपनाउनुपर्छ भन्ने विषयलाई व्यवहारिक रूपमा बुझ्ने अवसर पाएका थिए।
प्रशिक्षणपछि सञ्चालन गरिएको प्रश्नोत्तर तथा अन्तरक्रियामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूले सामाजिक सञ्जालमा नक्कली खाता बनाएर दुरुपयोग भएमा के गर्ने, शंकास्पद लिंक कसरी पहिचान गर्ने, अनलाइन ठगीबाट कसरी जोगिने, साइबर बुलिङ भएमा कसलाई जानकारी गराउने तथा व्यक्तिगत फोटो तथा विवरणको दुरुपयोग रोक्न के गर्ने जस्ता विषयमा जिज्ञासा राखेका थिए।
त्यसैगरी विद्यार्थीहरूले AI लाई पढाइमा कसरी प्रयोग गर्ने, AI बाट प्राप्त उत्तर सही वा गलत कसरी छुट्याउने, AI ले तयार गरेको सामग्रीलाई विद्यालयको शैक्षिक कार्यमा कसरी प्रयोग गर्ने तथा AI बाट तयार गरिएका फोटो र भिडियो वास्तविक हुन् कि होइनन् भनेर कसरी पहिचान गर्ने भन्ने विषयमा समेत प्रश्न गरेका थिए।
प्रशिक्षक शैलेश कडेलले विद्यार्थीका जिज्ञासालाई व्यवहारिक उदाहरणसहित सम्बोधन गर्दै प्रविधिको प्रयोग गर्दा उत्सुकतासँगै सावधानी पनि आवश्यक रहेको बताउनुभएको थियो।
कार्यक्रमका सभापति तथा वडा सदस्य बुद्धिमान लामाले पछिल्लो समय विद्यार्थी तथा युवाको दैनिक जीवन प्रविधिसँग प्रत्यक्ष जोडिएको अवस्थामा साइबर सुरक्षा र AI सम्बन्धी ज्ञान अत्यन्त आवश्यक बन्दै गएको बताउनुभएको थियो।
उहाँले यस्ता कार्यक्रमबाट विद्यार्थी, शिक्षक तथा अभिभावकमा डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे सचेतना र awareness बढाउन सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमलाई एउटा कार्यक्रममै सीमित नराखी निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो।
वडा सदस्य लामाले विद्यालय, समुदाय तथा विभिन्न क्षेत्रमा आवश्यकता पहिचान गरी साइबर सुरक्षा र नयाँ प्रविधिसम्बन्धी सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न सके डिजिटल जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो।
कार्यक्रममा उपस्थित वडा सदस्य चण्डिका रैला अर्यालले प्रविधिको प्रयोगबाट धेरै अवसर सिर्जना भए पनि यसको सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी नहुँदा विभिन्न समस्या उत्पन्न हुन सक्ने बताउनुभएको थियो।
उहाँले विद्यार्थी उमेरदेखि नै साइबर अपराध, व्यक्तिगत विवरणको सुरक्षा, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा AI को उचित प्रयोगबारे जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।
उहाँका अनुसार विद्यालय तहबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके विद्यार्थीहरूलाई प्रविधिको प्रयोगमा जिम्मेवार, सुरक्षित तथा सचेत बनाउन सहयोग पुग्नेछ।
सेन्ट जेभियर्स इङ्लिस एकेडेमीकी प्रधानाध्यापक राजकुमारी श्रेष्ठले आजका विद्यार्थी प्रविधिको प्रयोगमा निकै अगाडि रहे पनि साइबर सुरक्षा र नयाँ प्रविधिको जिम्मेवार प्रयोगबारे व्यवहारिक ज्ञान निरन्तर प्रदान गरिरहनुपर्ने बताउनुभएको थियो।
उहाँले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गर्ने भएकाले उनीहरूलाई केवल प्रविधि चलाउने ज्ञान मात्र नभई त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे समेत जानकारी दिनुपर्ने बताउनुभयो।
AI जस्तो नयाँ प्रविधिले अध्ययन तथा सिर्जनात्मक कामलाई सहज बनाउन सक्ने भए पनि यसको प्रयोग गर्दा तथ्य जाँच, मौलिकता, गोपनीयता र शैक्षिक इमानदारीलाई ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा विद्यार्थीको ज्ञान र सीप अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले व्यवहारिक सिकाइमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संयोजक कल्पना शर्माले साइबर अपराध र AI सम्बन्धी विषयलाई विद्यार्थी तथा शिक्षकसमक्ष सरल र व्यवहारिक रूपमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो।
उहाँले प्रशिक्षणका क्रममा विद्यार्थीहरूले राखेका प्रश्न, अन्तरक्रियामा देखाएको उत्साह तथा नयाँ प्रविधिप्रति उनीहरूको चासोले कार्यक्रमको आवश्यकता थप स्पष्ट भएको बताउनुभएको थियो।
उहाँका अनुसार साइबर अपराधका घटना तथा AI को प्रयोगसम्बन्धी विषय दिनप्रतिदिन परिवर्तन भइरहेकाले समयअनुसार नयाँ जानकारीसहित यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहनु आवश्यक छ।
कार्यक्रममा सहभागी शिक्षक तथा सरोकारवालाले समेत विद्यालय तहमा साइबर सुरक्षा र AI सम्बन्धी ज्ञानलाई नियमित रूपमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
प्रविधिको प्रयोग बढ्दै जाँदा विद्यार्थीलाई इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको संरक्षण, अनलाइन ठगीबाट बच्ने उपाय तथा डिजिटल सामग्रीको सत्यता पहिचान गर्ने सीप आवश्यक हुँदै गएको सहभागीहरूको भनाइ थियो।
त्यसैगरी AI को प्रयोग शिक्षा र सिर्जनात्मक क्षेत्रमा उपयोगी भए पनि यसको प्रयोग जिम्मेवार, सुरक्षित र नैतिक ढंगले हुनुपर्नेमा कार्यक्रमले जोड दिएको थियो।
कार्यक्रममा विषयगत प्रस्तुतीकरण, मल्टिमिडिया सामग्री, वास्तविक घटनाका उदाहरण, भिडियो, केस स्टडी, AI को प्रत्यक्ष Demo, खुला छलफल तथा प्रश्नोत्तर विधि प्रयोग गरिएको थियो।
कार्यक्रममा सहभागी २०५ जनाको नाम, संस्था/विद्यालय तथा हस्ताक्षरसहितको उपस्थिति विवरण अभिलेख गरिएको छ। सहभागी विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालालाई सहभागिताको प्रमाणपत्र वितरण गर्नुका साथै आवश्यक स्टेशनरी तथा सामग्रीसमेत वितरण गरिएको थियो।
शुभम् मल्टिमिडियाले कार्यक्रमको सञ्चालन, सहजीकरण, प्राविधिक व्यवस्थापन, प्रशिक्षण समन्वय, फोटो तथा भिडियो अभिलेखीकरण र प्रचारप्रसारको जिम्मेवारी निर्वाह गरेको थियो। कार्यक्रमका प्रमुख गतिविधि, प्रशिक्षण, AI Demo, अन्तरक्रिया, प्रश्नोत्तर, प्रमाणपत्र वितरण तथा समापनका दृश्यहरू फोटो तथा भिडियोमार्फत अभिलेखीकरण गरिएको छ।
कार्यक्रमले विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, पत्रकार, अभिभावक तथा स्थानीय सरोकारवालाबीच साइबर सुरक्षा र AI सम्बन्धी ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
कार्यक्रमबाट सहभागीहरूमा साइबर अपराध पहिचान तथा त्यसबाट बच्ने उपाय, डिजिटल खाताको सुरक्षा, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा अनलाइन जोखिमबारे सचेतना अभिवृद्धि हुनुका साथै AI को शिक्षा, अनुसन्धान तथा सिर्जनशील प्रयोगका विषयमा समेत व्यवहारिक जानकारी प्राप्त भएको जनाइएको छ।
कार्यक्रममा व्यक्त धारणा तथा सहभागीहरूको सक्रिय सहभागिताले डिजिटल युगमा यस्ता सचेतनामूलक कार्यक्रमको आवश्यकता निरन्तर रहने देखाएको छ। विद्यालय तथा समुदायस्तरमा नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न सके साइबर अपराधबाट हुने जोखिम न्यूनीकरणसँगै नयाँ प्रविधिको सुरक्षित, जिम्मेवार र सिर्जनशील प्रयोगका लागि आवश्यक awareness बढाउन सहयोग पुग्ने सहभागीहरूको धारणा थियो।
कार्यक्रमको मुख्य सन्देशका रूपमा “प्रविधिको प्रयोग गरौँ, तर सुरक्षित भएर। AI को प्रयोग गरौँ, तर जिम्मेवारीका साथ। साइबर अपराधबाट बचौँ, अरूलाई पनि बचाऔँ।” भन्ने सन्देश दिइएको थियो।








प्रतिक्रिया