काठमाडौं । बंगालको खाडीअन्तर्गत उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य बढ्न सक्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। विभागका अनुसार प्रणालीले नेपालमा वर्षा गराउन सक्ने भए पनि वर्षाको वास्तविक मात्रा, क्षेत्रगत प्रभाव र जोखिमको स्तरबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
भारत मौसम विभागका पछिल्ला सूचनाअनुसार उत्तर अण्डमान सागरमा विकसित प्रणाली क्रमशः पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै दक्षिण ओडिशा तथा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रभाव पार्ने दिशामा देखिएको छ। ओडिशाका लागि सेप्टेम्बर २३ र २४ मा अत्यधिक भारी वर्षाको चेतावनीसमेत जारी गरिएको छ।
नेपालमा भने आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने भएकाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, भूक्षय, खोलानालामा आकस्मिक बाढी र शहरी क्षेत्रमा डुबानको जोखिमप्रति सचेत रहनुपर्ने देखिएको छ।
स्वतन्त्र मौसमविद्हरूले विभिन्न मौसम पूर्वानुमान मोडेलका आधारमा असोज ८ देखि १२ गतेसम्म केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन्। केही मोडेलले निश्चित स्थानमा अत्यधिक वर्षाको संकेत देखाए पनि यस्तो वर्षा देशभर समान रूपमा नहुने र स्थानीय रूपमा केन्द्रित हुन सक्ने उनीहरूको भनाइ छ।
विशेषगरी असोज १० गते आसपास वर्षाको गतिविधि तुलनात्मक रूपमा बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वतयारीमा जोड दिन मौसमविद्हरूले सुझाव दिएका छन्।
मनसुनको अन्त्यतिर जमिन पहिले नै भिजेको अवस्थामा छोटो समयमा ठूलो वर्षा भए पहिरो, भूक्षय तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्छ। काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा समेत पानी निकास अवरुद्ध हुँदा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्नुपर्ने देखिएको छ।
भदौ १० गते भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि नदीको बहाव, नदीकिनार र भू–आकृतिमा परिवर्तन भएकाले ती क्षेत्र आगामी वर्षाका बेला थप संवेदनशील हुन सक्ने सरोकारवालाहरूले बताएका छन्।
कृषि क्षेत्रमा समेत वर्षाको असर पर्न सक्ने देखिएको छ। धानबाली पाकेर भित्र्याउने समय नजिकिँदै गर्दा लगातारको वर्षा र हावाहुरीले बालीनालीमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।
हालसम्म उक्त प्रणालीलाई चक्रवातका रूपमा घोषणा गरिएको छैन। त्यसैले यसको विकासक्रमबारे थप सूचना र आधिकारिक पूर्वानुमानलाई आधार मान्न आवश्यक छ। जल तथा मौसम विज्ञान विभागले प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना तथा चेतावनी जारी गर्ने जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई अनावश्यक रूपमा आत्तिनुभन्दा पूर्वतयारीमा ध्यान दिन, नदी तथा खोलानाला आसपास नजान, पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन तथा लामो दूरीको यात्रा गर्दा मौसम पूर्वानुमान र सरकारी चेतावनीलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
प्रतिक्रिया