काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोले मानवीय क्षतिसँगै यातायात क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा करिब १०० बस, ७० भन्दा बढी माइक्रोबस तथा करिब ३०० मालवाहक टिपर/गाडी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनरसमेत सम्पर्कविहीन छन्। भन्सार क्षेत्र, पार्किङस्थल, सडक तथा सामान ढुवानीका क्रममा रहेका सबै सवारीलाई समेट्दा क्षति ५०० हाराहारी पुग्न सक्ने महासंघको प्रारम्भिक अनुमान छ।
बाढीले सवारीसाधन मात्रै होइन, यातायात व्यवसायसँग प्रत्यक्ष जोडिएका चालक, परिचालक, मजदुर तथा व्यवसायीको अवस्थासमेत गम्भीर बनाएको छ।
अध्यक्ष गिरीका अनुसार महासंघको प्रारम्भिक तथ्यांकमा करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन छन्। सञ्चार तथा इन्टरनेट सेवा प्रभावित भएकाले यकिन विवरण संकलनमा कठिनाइ भइरहेको उनले बताए।
गिरीका अनुसार रसुवागढीदेखि बेत्रावती, त्रिशूली बजार हुँदै देवीघाटसम्मको क्षेत्रमा सवारीसाधनमा ठूलो क्षति पुगेको छ। विशेषगरी नदी तथा खोलाको किनारमा पार्किङ गरिएका तथा सञ्चालनमा रहेका सवारीसाधन बाढीको चपेटामा परेका छन्।
रसुवागढी नाकामा चीनबाट सामान ल्याउने कन्टेनरको ठूलो संख्या रहेकाले त्यहाँको वास्तविक क्षतिको विवरण संकलन गर्न अझै समय लाग्ने महासंघले जनाएको छ।
अध्यक्ष गिरीले अहिले राज्यको पहिलो प्राथमिकता मानिसको खोजी तथा उद्धार र राहत भएकाले त्यसपछि मात्र सवारीसाधनको यकिन तथ्यांक संकलन गर्नुपर्ने बताएका छन्।
उनका अनुसार महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिसँग समन्वय गरी क्षतिको विवरण संकलन गरिरहेको छ। सञ्चार सम्पर्क सहज हुँदै गएपछि थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।
बाढीपहिरोले सडकसमेत क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा ठूलो समस्या आएको छ। स्थानीय तह तथा सम्बन्धित निकायले जेसिबी, स्काभेटरलगायतका उपकरण प्रयोग गरी वैकल्पिक मार्ग सञ्चालनको प्रयास गरिरहेका छन्।
महासंघले प्रभावित नागरिकको उद्धार तथा राहत सामग्री ढुवानीमा सवारीसाधन परिचालन गरिरहेको जनाएको छ। कतिपय स्थानबाट यात्रुलाई निःशुल्क बस सेवामार्फत सुरक्षित गन्तव्यसम्म पुर्याउने कामसमेत भइरहेको अध्यक्ष गिरीले जानकारी दिए।
अध्यक्ष गिरीले विपद्को समयमा यातायात व्यवसायीले आफ्नो क्षतिको चिन्ताभन्दा पहिले नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिएको बताए।
उनले भने, “यो दुःखको घडीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सरकार र जनतासँगै छ।”
महासंघले एकातर्फ सम्पर्कविहीन चालक, मजदुर तथा व्यवसायीको खोजीलाई प्राथमिकता दिँदै आएको छ भने अर्कोतर्फ प्रभावित नागरिकको उद्धार, राहत सामग्री ढुवानी र वैकल्पिक यातायात व्यवस्थामा सहयोग गरिरहेको जनाएको छ।
बाढीले यातायात क्षेत्रमा पुर्याएको वास्तविक क्षतिको विवरण भने सम्पूर्ण क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क सहज भएपछि मात्रै स्पष्ट हुने देखिएको छ।
प्रतिक्रिया