ओलीको चेतावनी : ‘पुनर्गठन’को माग अराजकता, एमाले अहिले पुनर्जागरणको चरणमा
rastriyakhabar
१ भाद्र २०८३, सोमबार ०६:१०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको माग गर्दै अध्यक्ष परिवर्तनको अभियान सञ्चालन गर्नेहरूलाई अराजकको संज्ञा दिएका छन्।
झापा एमालेद्वारा आयोजित **‘मिसन पार्टी जागरण अभियान’**को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने तथा हस्ताक्षर अभियान चलाएर पार्टी अध्यक्ष परिवर्तन गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।
ओलीले एमाले अहिले पुनर्गठनको नभई ‘पुनर्जागरण’को चरणमा रहेको दाबी गरे। उनले पार्टीको वास्तविक परिवर्तन भनेको नीति, गन्तव्य र कार्यक्रम परिवर्तन गर्नु भएको बताए।
पार्टीका साधारण सदस्यहरूले समेत निर्वाचनमा एमाले उम्मेदवारलाई मत नदिएको भन्दै ओलीले पार्टीलाई मतदान नगर्ने सदस्यहरूको सदस्यता नवीकरण नगर्न र नयाँ सदस्य विस्तारमा ध्यान दिन निर्देशन दिए।
सम्बोधनका क्रममा ओलीले विगतमा आफू पार्टीभित्र विभिन्न अवस्थामा कारबाही र निष्कासनमा परेको प्रसंगसमेत स्मरण गरे। उनले २०२९ देखि २०३२ सालसम्म सीपी मैनाली समूहबाट आफूलाई सदस्यविहीन बनाइएको तथा २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबाट निष्कासन गरिएको बताए।
आफूले निरन्तर पार्टीको रक्षा गर्दै आएको दाबी गर्दै ओलीले एमालेभित्र लोकतन्त्र जीवित रहेको बताए। उनले पार्टीमा कोही मालिक र कोही दासको अवस्था नरहेको उल्लेख गर्दै आफूले पार्टीभित्र कहिल्यै कडा स्वर वा वचन प्रयोग नगरेको जिकिर गरे।
ओलीले पार्टीलाई थप सुदृढ र सक्रिय बनाउन संगठन विस्तार तथा सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया