काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापनका क्रममा पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ। उद्घाटन समारोहमा सहभागी भएका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समापन समारोहमा भने उपस्थित भएनन्।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा आयोजित भेलाको उद्घाटन समारोहमा खड्का र शेखर सहभागी भएका थिए। उद्घाटनका क्रममा पूर्वसभापति शेरबहादुर देउवाको दायाँबायाँ शेखर र शशांक कोइराला रहेका थिए। तर समापन समारोहमा दुवै नेता अनुपस्थित भएपछि कांग्रेसभित्र यसको कारणबारे चर्चा सुरु भएको छ।
भेलाले आगामी १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा सम्मेलन संयोजक शशांक कोइरालाले समन्वय गर्ने निर्णय गरेको छ। यही निर्णयपछि शशांकलाई संस्थापनइतर पक्षको नेतृत्वमा अघि बढाउने तयारीका कारण खड्का र शेखर समापनमा नआएको हुनसक्ने चर्चा हुन थालेको छ।
तर शशांक कोइरालाले भने शेखरले आफू उद्घाटन सत्रमा मात्र सहभागी हुने जानकारी सुरुमै दिएको बताएका छन्। शेखर र खड्कानिकट अन्य नेता तथा कार्यकर्ता भने समापन समारोहमा सहभागी भएका थिए।
यसैबीच, सम्मेलनका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेस नेताहरू विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच भएको विवाद पनि चर्चामा आएको छ।
हलबाट आएका सुझाव समेटेर तयार पारिएको निर्णयको मस्यौदा प्रस्तुत गर्ने क्रममा दुई नेताबीच मतभेद देखिएको हो। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत भएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो।
त्यसपछि निर्णयको मस्यौदामा ‘कार्यसमिति’ शब्द राख्ने विषयमा महतले आग्रह गरेपछि निधि पनि मञ्चमा पुगेका थिए। दुवै नेताबीच केहीबेर भनाभन भएपछि निधिले महतलाई मञ्चबाट हट्न आग्रह गरेका थिए। त्यस क्रममा केहीबेर माइकसमेत बन्द गरिएको थियो।
सम्मेलनको निर्णयमा धर्मसम्बन्धी विषय समावेश गर्ने विषयमा समेत निधि र महतबीच फरक धारणा देखिएको बताइएको छ।
महतले निर्णयमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राख्नुपर्ने धारणा राखेका थिए। निधिले भने त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए।
प्रत्यक्ष प्रसारण भइरहेका बेला यही विषयमा दुवै नेताबीच भनाभन र कागज तानातानसमेत भएको थियो। पछि महतले भने घटनालाई ठूलो विवादका रूपमा नलिन आग्रह गर्दै धर्मको विषयमा केही फरक धारणा रहे पनि अन्ततः सहमति भएको र सम्मेलनले निर्णय सर्वसम्मत रूपमा पारित गरेको बताएका छन्।
समापन समारोहमा पूर्वसभापति शेरबहादुर देउवाले धर्मका विषयमा दिएको अभिव्यक्तिले पनि कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ।
संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा बोल्दै देउवाले आफू हिन्दु भएको उल्लेख गर्दै पशुपतिनाथ जाने र पूजा गर्ने बताएका थिए। उनले हिन्दु धर्मसँगै बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्ने धारणा राखे।
बौद्ध धर्मलाई संसारले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत मानिएको उल्लेख गर्दै देउवाले नेपालमा प्रकृतिलाई आधार मानेर धर्म मान्ने समुदायको आस्था र संस्कृतिको पनि सम्मान गर्नुपर्ने बताए। उनले राई र लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिए।
नेपाल कस्तो हुने भन्ने कुरा नेपाली जनतामै निर्भर रहने उल्लेख गर्दै देउवाले सबै धर्म तथा समुदायको आस्थाको सम्मान आवश्यक रहेको बताए।
भेलाबाट पारित निर्णय र समापनमा देउवाले दिएको अभिव्यक्तिपछि कांग्रेसको संस्थापनइतर पक्षले आगामी राजनीतिक एजेन्डामा धर्म तथा धार्मिक स्वतन्त्रताको विषयलाई थप प्राथमिकताका साथ अघि बढाउन खोजेको संकेत देखिएको छ।
प्रतिक्रिया