विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी, सचिवमा प्रा. डा. रोजी श्रेष्ठ नियुक्त
rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०५:५०
काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ निवासी डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान तथा शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्ष बन्नुअघि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख थिए। उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा पुस्तक प्रकाशित छन्।
त्यसैगरी, आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। नियुक्तिपूर्व उनी बी एन्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्।
डा. श्रेष्ठले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा पीएचडी, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गरेकी छन्। उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक र पीसीएल नर्सिङ पनि पूरा गरेकी हुन्।
प्रतिक्रिया