देवानगञ्ज घटनाप्रति अपेनको दुःख व्यक्त, सामाजिक सद्भाव र बालबालिकाको मनोसामाजिक सुरक्षामा ध्यान दिन आग्रह हिंसा र उत्तेजनाले बालबालिकामा दीर्घकालीन असर पार्न सक्ने भन्दै संयमित हुन सबै पक्षलाई अपिल।

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८३, आईतवार ०६:१३

काठमाडौं । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज क्षेत्रमा हालै भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

अपेनका केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव पुनःस्थापित गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् भन्ने विश्वास व्यक्त गरिएको छ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले आपसी विश्वास, सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउनुपर्नेमा अपेनले जोड दिएको छ।

प्रारम्भिक बालविकास तथा विद्यालय शिक्षासँग प्रत्यक्ष आबद्ध संस्थाका रूपमा अपेनले यस्ता घटनाले बालबालिकाको मानसिक, भावनात्मक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरेको छ।

समाजमा फैलिने हिंसा, द्वेष, उत्तेजना, भय र विभाजनकारी सन्देशले बालबालिकाको कोमल मनमा दीर्घकालीन मनोसामाजिक असर पार्न सक्ने भएकाले अभिभावक, शिक्षक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा समाजका सबै जिम्मेवार पक्षलाई संवेदनशील र संयमित बन्न अपेनले आग्रह गरेको छ।

सामाजिक सञ्जालमा उत्तेजना फैलाउने वा समाजमा भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्दै अपेनले राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा सरोकारवाला सबै पक्षलाई शान्तिपूर्ण सहअस्तित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन भूमिका निर्वाह गर्न अपिल गरेको छ।

अपेनले विवेक, जिम्मेवारी र संयमताका साथ वर्तमान परिस्थितिको सामना गर्दै मानवता, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको रक्षा गर्न सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor