कांग्रेस संस्थापनइतर समूहद्वारा शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन
rastriyakhabar
१७ श्रावण २०८३, आईतवार ०५:४६
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ। आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन शनिबार चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति तथा विभिन्न उपसमितिको घोषणा गरिएको हो।
प्रचार–प्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला सभापति, काठमाडौं उपत्यकाका जिल्ला कार्यसमितिका पदाधिकारी तथा महानगर एवं नगर सभापतिहरूलाई समेटिएको छ।
यसैगरी, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पदेन सदस्यका रूपमा समितिमा समावेश गरिएको छ।
राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन १६ वटा विषयगत उपसमिति पनि गठन गरिएको छ। तीमध्ये राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति तथा आर्थिक नीति तयारी समिति प्रमुख रहेका छन्।
त्यस्तै, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति–सुरक्षा तथा प्रशासन समन्वय, सचिवालय व्यवस्थापनलगायतका समितिहरू पनि गठन गरिएको छ।
संस्थापनइतर समूहले पार्टीभित्रको वर्तमान अवस्था, संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र तथा आगामी राजनीतिक कार्यदिशाबारे व्यापक छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको जनाएको छ। उक्त भेलाबाट पार्टीको भावी रणनीति र संगठनात्मक सुदृढीकरणका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया