राहदानी विभागले बढायो ई–पासपोर्ट उत्पादन क्षमता, अब दैनिक १,५०० राहदानी छापिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८३, बिहीबार ०६:०४

काठमाडौं। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई व्यवस्थापन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १,५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै पछिल्लो एक सातादेखि राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढेको छ। सोही मागलाई सम्बोधन गर्न उत्पादन क्षमता थप विस्तार गरिएको विभागले जनाएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढेको विभागको भनाइ छ। वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नागरिकका कारण पनि ई–पासपोर्टको माग निरन्तर बढिरहेको छ।

हाल विद्युतीय राहदानी सेवा काठमाडौंमा मात्र सीमित नभई देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, विभिन्न इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत पनि उपलब्ध रहेको विभागले जनाएको छ।

विभागका अनुसार विद्युतीय राहदानी वितरण २०७८ मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु भएको थियो। प्रारम्भिक चरणमा दैनिक करिब १०० राहदानी मात्र जारी गर्ने क्षमता रहेकोमा अहिले दैनिक १,५०० राहदानी उत्पादन तथा जारी गर्न सक्ने अवस्थामा पुगेको छ।

राहदानी प्रणाली सञ्चालनका क्रममा देखिएका प्राविधिक समस्या समाधानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागले जनाएको छ। एक महिनाभित्र प्रमुख प्राविधिक समस्या समाधान गर्ने र तीन महिनाभित्र प्रणालीलाई स्थिर बनाउने लक्ष्य राखिएको छ।

विभागले अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको जानकारी दिँदै स्थिरीकरण अवधिभित्र अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन सेवाग्राहीलाई अनुरोध गरेको छ। साथै, सेवा प्रवाहलाई थप सहज, सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन निरन्तर सुधारका काम भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor