विशेष महाधिवेशन विवाद फेरि सर्वोच्चमा, देउवा पक्षद्वारा पुनरावलोकन निवेदन दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८३, शुक्रबार ०६:०२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै निवेदन दर्ता गराएको हो।

सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बिहीबार देउवाको वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गरिएको हो। यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिक मान्यता दिने आदेश दिएको थियो।

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त मुद्दामा निर्वाचन आयोग, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।

अब तीन सदस्यीय इजलासले पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ। पुनरावलोकनका लागि अनुमति प्राप्त भएमा मात्रै मुद्दा पुनः नियमित सुनुवाइ प्रक्रियामा अघि बढ्नेछ। सर्वोच्च अदालतका अनुसार पुनरावलोकनसम्बन्धी अनुमति वा अस्वीकृतिको निर्णय गर्ने इजलास महिनामा दुई पटक मात्र बस्ने भएकाले यस विषयमा निर्णय कहिले हुने भन्ने अझै निश्चित भइसकेको छैन।

प्रतिक्रिया

slot gacor