एनआरएनए अमेरिकाको १५औँ साधारणसभा सम्पन्न, संस्थागत एकताको ऐतिहासिक घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०८३, मंगलवार ०६:०१

अस्टिन (टेक्सस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सन टेक्ससको अस्टिन महानगर क्षेत्रअन्तर्गत राउन्ड रकस्थित Holiday Inn Austin North–Round Rock मा भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले संस्थागत एकताको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकामा नयाँ अध्यायको सुरुवात गरेको जनाएको छ।

विगत एक वर्षदेखि दुई नेतृत्वमा विभाजित रहेको एनआरएनए अमेरिकाले सम्मेलनमार्फत एकतामा पुगेको घोषणा गरेको हो। अमेरिकाका विभिन्न राज्यबाट आएका प्रतिनिधि, पूर्व पदाधिकारी, व्यवसायी, पत्रकार, युवा, महिला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको उद्घाटन समारोह राष्ट्रिय गानबाट सुरु भएको थियो। त्यसपछि दुवै पक्षका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेतीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।

सम्मेलनअघि दुवै पक्षबीच निरन्तर संवाद र छलफलपछि १६ बुँदे सहमति भएको थियो। सोही सहमतिलाई विकास उप्रेती नेतृत्वको कार्यसमितिले अनुमोदन गरेपछि दुवै पक्ष संयुक्त रूपमा साधारणसभामा सहभागी भएका थिए। उद्घाटनअघि जुममार्फत अन्तिम छलफलसमेत सम्पन्न भएको आयोजकले जनाएको छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले संस्थाको उद्देश्य पूरा गर्न मन, विचार र व्यवहारमा एकता आवश्यक रहेको बताए। प्रमुख अतिथि तथा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष अर्जुन बञ्जाडेले संवाद र सहमतिमार्फत संस्थागत विवाद समाधान गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

विशिष्ट अतिथि सुनिल साहले विश्वभर रहेका नेपालीको साझा संस्थाका रूपमा एनआरएनएले प्रवासी नेपालीको हितसँगै नेपालको आर्थिक, सामाजिक र बौद्धिक विकासमा थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे। अध्यक्ष विकास उप्रेतीले संस्थाको गरिमा र सदस्यहरूको भावनालाई सर्वोपरि राख्दै आवश्यक परे जुनसुकै त्याग गर्न तयार रहेको बताए।

सम्मेलनमा एनआरएनए आईसीसीका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न राज्यका प्रतिनिधि तथा समुदायका अगुवाहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। नेपाल अमेरिका पत्रकार संघ (NEAJA) की कोषाध्यक्ष झरना अधिकारीले प्रवासी नेपाली समुदायलाई जोड्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।

दुईदिने साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, सदस्यता विस्तार, समुदाय सेवा, ज्ञान आदानप्रदान, युवा सहभागिता, उद्यमशीलता, संस्थागत सुदृढीकरण, विधान संशोधन तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले एनआरएनए अमेरिकालाई थप समावेशी, पारदर्शी र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) ले सञ्चालन गरिरहेको समर स्कुलका बालबालिकाको नेपाली भाषा तथा सांस्कृतिक शिक्षाका लागि १,५०० अमेरिकी डलर बराबरको सहयोग रकम हस्तान्तरण गरिएको थियो। उक्त सहयोगले प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्मेलनमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। स्वागत नृत्य, योग प्रदर्शन, समर स्कुलका बालबालिकाको सांस्कृतिक प्रस्तुति, गायिका देविका केसीका गीत तथा स्थानीय कलाकारहरूको लोकदोहोरी प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो। चर्चित गायक हिमाल सागरले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै सांस्कृतिक साँझलाई थप उत्साहपूर्ण बनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

slot gacor