दिल्लीमा ‘संसद मार्च’का क्रममा तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०८३, मंगलवार ०५:४३

नयाँ दिल्ली । ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको ‘संसद मार्च’का क्रममा सोमबार भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। संसद्को मनसुन अधिवेशन चलिरहेका बेला सुरक्षा व्यवस्था कडा पारिएको छ भने संसद् भवन आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नीट परीक्षा विवाद, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा सामाजिक अभियन्ता सोनम वाङचुकको रिहाइको माग गर्दै हजारौँ विद्यार्थी र युवाहरू आन्दोलनमा उत्रिएका हुन्। जन्तर मन्तर, रायसिना रोड, रफी मार्ग र कर्तव्य पथ क्षेत्रमा प्रदर्शन चर्किएपछि सरकारका तर्फबाट वार्ताको पहल गरिएको छ।

सीजेपीका प्रतिनिधि आशुतोष रांका र सौरव दासले केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट गरी तीन बुँदे मागपत्र बुझाएका छन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामा, सोनम वाङचुकको रिहाइ तथा कानुनी कारबाही अन्त्य, साथै नीट पेपर लीक प्रकरणपछि आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

प्रदर्शनका क्रममा संसद् भवन वरपर करिब ८ हजार प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। आन्दोलनकारीहरूले प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप लगाएका छन् भने दिल्ली प्रहरीले बल प्रयोगसम्बन्धी केही दाबीलाई भ्रामक भएको जनाएको छ।

आन्दोलनलाई तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, अभिनेत्री शबाना आजमी, आम आदमी पार्टी तथा अन्य विपक्षी दलका नेताहरूले समर्थन जनाएका छन्। कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, अरविन्द केजरीवाल, मनिष सिसोडिया, पवन खेडा लगायतका नेताहरूले आन्दोलनकारीका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

लामो समयदेखि अनशनमा रहेका सोनम वाङचुक हाल सफदरजङ्ग अस्पतालमा छन्। उनले शिक्षा प्रणालीको असफलता स्वीकार्ने वा संसद्मा आफ्नो मुद्दा उठाउने प्रतिबद्धता आएमा मात्र अनशन तोड्ने बताएका छन्। उता सीजेपीका अध्यक्ष अभिजित दीपकेले स्वास्थ्य समस्याका कारण आफ्नो अनशन समाप्त गरेका छन्।

सीजेपीले सरकारबाट आधिकारिक प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने जनाएको छ। उता दिल्ली प्रहरीले संसद् भवनतर्फ मार्च गर्ने अनुमति नदिएको स्पष्ट पारेको छ।

परीक्षा प्रणालीमा देखिएको अनियमितताको विरोध गर्दै गत मे महिनामा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको सीजेपी अहिले विद्यार्थी र युवामाझ चर्चित अभियानका रूपमा विस्तार भएको छ। विश्लेषकहरूले सोमबारको प्रदर्शनलाई प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध हालैका वर्षहरूकै राजधानी दिल्लीमा भएको प्रमुख सार्वजनिक विरोधप्रदर्शनमध्ये एकका रूपमा लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor