लागूऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीलाई सचेत बनाउन बुढानीलकण्ठ–१ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०८३, बुधबार १६:४१

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ को आयोजना तथा प्राइड सेन्टरको सहजीकरणमा “वडा अध्यक्ष तथा जनप्रतिनिधिसँग विद्यार्थी तथा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १ स्थित सेन्ट जेभियर्स इङ्ग्लिस स्कुलको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत २०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रम वडा सदस्य बुद्धिमान लामाको सभापतित्वमा सम्पन्न भएको थियो भने वडा सदस्य चण्डिका रैला, विद्यालयका शिक्षक–शिक्षिका, नेपाल प्रहरीका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सभापति बुद्धिमान लामाले लागूऔषध तथा दुर्व्यसन आजको समाजको गम्भीर चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै विद्यार्थीहरूलाई कुलतबाट टाढा रही अनुशासित, जिम्मेवार र सकारात्मक नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले समाज परिवर्तनको प्रमुख आधार विद्यार्थी भएकाले उनीहरूले सही बाटो रोजेमा सभ्य र समृद्ध समाज निर्माण सम्भव हुने बताउनुभयो।

कार्यक्रमका प्रमुख प्रशिक्षक धुर्व कार्की ले लागूऔषध तथा दुर्व्यसनको परिचय, विभिन्न प्रकारका लागूऔषध, तिनले मानव स्वास्थ्य, परिवार र समाजमा पार्ने असर तथा रोकथामका उपायबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले किशोरावस्थामा साथीहरूको दबाब, सामाजिक सञ्जालको प्रभाव तथा गलत संगतका कारण युवाहरू कुलततर्फ आकर्षित हुने जोखिम बढ्दै गएको बताउँदै सचेतना, आत्मविश्वास र सही निर्णय क्षमताले मात्र त्यस्ता चुनौती सामना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

प्रशिक्षणका क्रममा सहभागी विद्यार्थीहरूलाई लागूऔषध नियन्त्रण ऐन, लागूऔषध सेवन, बिक्री तथा ओसारपसारसँग सम्बन्धित कानुनी व्यवस्था र सजायबारे समेत जानकारी गराइएको थियो। कार्यक्रममा स्वस्थ जीवनशैली, नियमित अध्ययन, खेलकुद, योग, ध्यान, समय व्यवस्थापन तथा सकारात्मक सोचको महत्वबारे पनि विशेष प्रशिक्षण प्रदान गरिएको थियो।

अन्तरक्रिया सत्रमा विद्यार्थीहरूले लागूऔषध नियन्त्रण, विद्यालय वातावरण, सामाजिक चुनौती तथा युवाको भूमिकासम्बन्धी विभिन्न प्रश्नहरू राखेका थिए। जनप्रतिनिधि, प्रहरी तथा प्रशिक्षकहरूले विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै दुर्व्यसनमुक्त समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण रहने बताएका थिए।

कार्यक्रमबाट विद्यार्थीहरूमा लागूऔषध तथा दुर्व्यसन सम्बन्धी चेतना अभिवृद्धि भएको, कुलतबाट बच्ने व्यवहारिक ज्ञान र सीप विकास भएको, आत्मविश्वास तथा जिम्मेवारीबोध बढेको तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरणा प्राप्त भएको आयोजकले जनाएको छ। साथै विद्यार्थीहरूले आफूहरू लागूऔषध तथा दुर्व्यसनबाट टाढा रहने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा सहभागी २०० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले किशोरकिशोरीहरूलाई कुलतबाट जोगाउन तथा जिम्मेवार, अनुशासित र सचेत नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने बुढानीलकण्ठ नगरपालिका वडा नं. १, सेन्ट जेभियर्स इङ्ग्लिस स्कुल परिवार, नेपाल प्रहरी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor