काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३ अर्ब ४५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १८औँ अधिवेशनअन्तर्गत तेस्रो बैठकमा नगर उपप्रमुख अनिता लामाले प्रस्तुत गरेको बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ।
कुल बजेटमध्ये रु. १ अर्ब ४३ करोड ३३ लाख चालु खर्चतर्फ विनियोजन गरिएको छ भने रु. २ अर्ब १ करोड ६६ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ। पुँजीगत खर्चको हिस्सा चालु खर्चभन्दा बढी हुनु सकारात्मक पक्ष मानिएको छ, जसले नगरपालिकाले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधारमा जोड दिएको संकेत गर्दछ।
क्षेत्रगत रूपमा हेर्दा शिक्षा क्षेत्रमा रु. ९ करोड, स्वास्थ्य क्षेत्रमा रु. १४ करोड २५ लाख तथा कृषि क्षेत्रमा रु. ९० लाख विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा तुलनात्मक रूपमा उल्लेख्य बजेट छुट्याइए पनि कृषि क्षेत्रमा विनियोजित रकम न्यून रहेको भन्दै किसान तथा कृषि सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।
नगरपालिकाले आगामी वर्षमा सडक स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहको आधुनिकीकरण, विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ।
यद्यपि, बजेटले देखाएको महत्वाकांक्षी लक्ष्य र विगतका योजनाको कार्यान्वयन अवस्थाबीचको अन्तरलाई लिएर नगरवासीले प्रश्न उठाउन थालेका छन्। विगतका केही विकास आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको, सेवा प्रवाहमा सुधार अपेक्षाअनुसार हुन नसकेको तथा करार कर्मचारी व्यवस्थापन, फोहोर व्यवस्थापन, ट्राफिक समस्या र अव्यवस्थित शहरीकरणजस्ता विषय अझै समाधान हुन बाँकी रहेको स्थानीयको गुनासो छ।
स्थानीय तहका जानकारहरूका अनुसार बजेटको आकारभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र परिणाममुखी खर्च व्यवस्थापन महत्वपूर्ण हुने बताउँछन्। पुँजीगत बजेट विनियोजन हुनु मात्र पर्याप्त नभई तोकिएको समयमा गुणस्तरीय रूपमा योजना सम्पन्न गर्न सकिए मात्र नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्नेछन्।
नगरपालिकाले प्रस्तुत गरेको बजेटले विकासको स्पष्ट खाका प्रस्तुत गरेको देखिए पनि अबको मुख्य परीक्षा भने कार्यान्वयनमै हुने देखिन्छ। नगरवासीको अपेक्षा छ— बजेटका अंकहरू कागजमै सीमित नहोस्, विकास र सेवाको अनुभूतिमा रूपान्तरण होस्।
प्रतिक्रिया