काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगरक्षेत्रभित्रको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत पहिचान संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले परम्परागत शैलीमा भवन निर्माण गरेका घरधनीहरूलाई अनुदान प्रदान गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालय, हातीगौँडाले “परम्परागत भवन निर्माण अनुदान कार्यविधि, २०८२” बमोजिम तोकिएको मापदण्ड पूरा गरेका घरधनीहरूलाई लक्षित गर्दै ७ दिने जरुरी सूचना प्रकाशित गरेको हो।
नगरपालिकाका अनुसार परम्परागत इँटा, झिङ्गति (झ्याङ्गति) को छाना, काठका बुट्टेदार झ्याल–ढोका तथा स्थानीय मौलिक वास्तुकलाको प्रयोग गरी निर्माण सम्पन्न गरिएका वा निर्माणको विभिन्न चरणमा रहेका भवनहरू अनुदानका लागि योग्य हुनेछन्।
नगरपालिकाले यस्ता भवन निर्माणलाई प्रोत्साहन गर्दै स्थानीय कला, संस्कृति र वास्तुकलाको संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखेको जनाएको छ। पछिल्लो समय आधुनिक संरचनाको बढ्दो प्रभावका कारण परम्परागत शैलीका भवनहरू लोप हुँदै गएको अवस्थामा नगरपालिकाको यो कदमलाई सांस्कृतिक सम्पदा संरक्षणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
अनुदान प्राप्त गर्न इच्छुक घरधनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा), चालु आर्थिक वर्षको मालपोत वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, स्वीकृत भवन नक्सा, निर्माण सम्पन्न प्रमाणपत्र (उपलब्ध भएमा), भवनका चारैतर्फका रङ्गीन तस्बिर, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र तथा बैंक खाता विवरण (चेकको प्रतिलिपि) अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।
आवेदन सम्बन्धित वडा कार्यालय वा बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला द्वारा जारी सूचनामा नगरभित्रका मौलिक तथा परम्परागत वास्तुकलाको संरक्षणमा सबै घरधनीलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
नगरपालिकाको विश्वास छ कि यस कार्यक्रमले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन तथा भावी पुस्तामा मौलिक वास्तुकलाप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
प्रतिक्रिया