विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्न बुढानीलकण्ठमा नेतृत्व विकास तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०८३, मंगलवार ०५:३४

काठमाडौं । विद्यालयस्तरका विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले भ्याली पब्लिक हाई स्कूलमा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।

बिल्डिङ लिडरशिप, ब्रान्डिङ बुढानीलकण्ठ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जनप्रतिनिधि, विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा विद्यार्थी नेताहरू सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मिठाराम अधिकारी ले नेतृत्व कुनै पद प्राप्त गरेपछि मात्र आउने विषय नभई बाल्यकालदेखि नै विकास गरिनुपर्ने गुण भएको बताउनुभयो। उहाँले विद्यालय तहका विद्यार्थीहरूलाई भविष्यका सक्षम नेतृत्वकर्ता, जिम्मेवार नागरिक तथा समाज परिवर्तनका संवाहकका रूपमा तयार गर्न यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी अनिता लामा ले नेतृत्व विकाससँगै अनुशासन, सकारात्मक सोच, नैतिकता तथा सामाजिक उत्तरदायित्वको भावना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। विद्यार्थीहरूमा निर्णय क्षमता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

तालिमका क्रममा नेतृत्वका आधारभूत सिद्धान्त, प्रभावकारी सञ्चार कला, टोली व्यवस्थापन, निर्णय क्षमता, समस्या समाधान तथा सार्वजनिक प्रस्तुतिकरणलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले नेतृत्व विकासका व्यावहारिक सीप सिक्न पाएको तथा भविष्यमा विद्यालय र समाजमा सकारात्मक भूमिका निर्वाह गर्न प्रेरणा मिलेको बताएका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकासप्रति रुचि बढाउनुका साथै बुढानीलकण्ठ नगरपालिकालाई सक्षम, सिर्जनशील र जिम्मेवार युवाको नगरका रूपमा स्थापित गर्ने अभियानमा सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor