राष्ट्रियसभा बैठक अवरुद्ध, कार्यसूचीमा प्रवेश नगरी स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०८३, बिहीबार ०५:०७

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक विपक्षी दलका सांसदहरूको अवरोधका कारण निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले बैठकमा अवरोध गरेका हुन्।

बैठकमा सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि सदनको कारबाही प्रभावित भएको थियो। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा फर्केर कार्यसूची अगाडि बढाउन आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक सञ्चालन हुन सकेन।

आजको बैठकका लागि राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी जानकारी प्रस्तुत गर्ने, आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्ने तथा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको सामान्य छलफल प्रस्ताव तथा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको भए पनि अवरोधका कारण ती कार्यसूची अघि बढ्न सकेनन्।

लगातारको विरोध र गतिरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गर्दै राष्ट्रियसभाको अर्को बैठक जेठ २६ गते मङ्गलबार अपराह्न १:१५ बजे बस्ने जानकारी गराएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादले संसद्का दुवै सदनमा असर पार्न थालेपछि महत्वपूर्ण विधेयक तथा बजेटसम्बन्धी छलफलसमेत प्रभावित हुने संकेत देखिएको छ।

प्रतिक्रिया

Leave a Reply