काठमाडौं । युवापुस्ताको शिक्षा, सीप र भविष्य निर्माणलाई प्राथमिकतामा राख्दै गोकर्णेश्वर नगरपालिकाले ‘जेन जी छात्रवृत्ति कार्यक्रम’ घोषणा गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ उत्तीर्ण गरेका नगरभित्रका विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले स्वास्थ्य तथा इन्जिनियरिङ शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विशेष अवसर प्रदान गर्ने भएको छ।
संघीय सरकारबाट युवाको आकांक्षा र आवश्यकतालाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको चर्चा भइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले युवाको भविष्यमा प्रत्यक्ष लगानी गर्ने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेपछि विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा उत्साह छाएको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार स्वास्थ्य क्षेत्रतर्फ ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, फिजियोथेरापी असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट, डिप्लोमा इन फार्मेसी, रेडियोग्राफर तथा अप्थाल्मिक असिस्टेन्ट विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ। त्यस्तै शंखरापुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ तथा अटोमोबाइल इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले युवाको भविष्य निर्माण र दक्ष जनशक्ति उत्पादन नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउँदै भने, “आजको जेन जी पुस्ता प्रविधिमैत्री, प्रतिस्पर्धी र सिर्जनशील छ। उनीहरूलाई अवसर र वातावरण दिन सके देशकै विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन्। त्यसैले गोकर्णेश्वर नगरपालिकाले युवाको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर स्वास्थ्य र इन्जिनियरिङ शिक्षामा छात्रवृत्ति कार्यक्रम ल्याएको हो। यो केवल छात्रवृत्ति होइन, युवाको भविष्यमा गरिएको लगानी हो।”
नगर प्रमुख रिसालले थपे, “आर्थिक अभावका कारण कुनै पनि प्रतिभावान विद्यार्थी उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनु हुँदैन। स्थानीय सरकारले युवालाई सीप, शिक्षा र रोजगारीसँग जोड्ने अभियानलाई आगामी दिनमा अझ विस्तार गर्नेछ।”
नगरपालिकाका अनुसार प्रत्येक इन्जिनियरिङ कार्यक्रममा ४८–४८ जनाको स्वीकृत कोटा रहेको छ भने आवेदन दिन इच्छुक विद्यार्थीले एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। छात्रवृत्तिका लागि आवश्यक कागजातसहित २०८३ जेठ २२ गतेभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
नगरपालिकाको यस पहलप्रति स्थानीय अभिभावक तथा विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन्। वडा नं. ८ का एक अभिभावकले भने, “प्राविधिक शिक्षा निकै महँगो हुने भएकाले धेरै परिवारका छोराछोरी अवसरबाट वञ्चित हुने गरेका छन्। नगरपालिकाले ल्याएको यो कार्यक्रमले मध्यम तथा न्यून आय भएका परिवारलाई ठूलो राहत दिएको छ।”
एसईई उत्तीर्ण एक विद्यार्थीले भने, “इन्जिनियर बन्ने सपना थियो तर आर्थिक अवस्था कमजोर भएकाले सम्भव होला जस्तो लागेको थिएन। नगरपालिकाको छात्रवृत्ति कार्यक्रमले हाम्रो सपना पूरा गर्ने बाटो खोलेको छ।”
स्थानीयवासीहरूले गोकर्णेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको यो लगानीलाई दूरदर्शी र युवामैत्री कदमका रूपमा लिएका छन्। उनीहरूका अनुसार यस कार्यक्रमले प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति आकर्षण बढाउनुका साथै नगरभित्र दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
स्थानीय सरकारबाट युवाको शिक्षा, सीप र भविष्यमा गरिएको यस्तो लगानीलाई उत्तरदायी शासनको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। गोकर्णेश्वर नगरपालिकाको यो पहलले हजारौं युवामा नयाँ आशा, आत्मविश्वास र भविष्यप्रतिको उत्साह थप्ने विश्वास गरिएको छ।
प्रतिक्रिया