महाँकाल जनजागृति विद्यालयमा साइबर अपराध सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न
rastriyakhabar
३१ बैशाख २०८३, बिहीबार १६:१३
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका सूचना प्रविधि शाखा को आयोजनामा तथा शुभम् मल्टिमिडियाको सहजीकरणमा साइबर अपराध तथा डिजिटल सुरक्षासम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गोल्फुटारस्थित महाँकाल जनजागृति विद्यालय को सभाहलमा आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवाला गरी करिब १३५ जनाको सहभागिता रहेको थियो। पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराध, अनलाइन ठगी, ह्याकिङ, फेक आइडी, साइबर बुलिङ तथा डिजिटल दुरुपयोगका घटना बढ्दै गएको सन्दर्भमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमकी सभाध्यक्ष कल्पना शर्माले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको बताउँदै विद्यार्थीलाई डिजिटल दुनियाँको अवसरसँगै जोखिमबारे पनि जानकारी हुनु आवश्यक रहेको धारणा राखिन्। उनले साइबर अपराधबाट जोगिन अभिभावक, शिक्षक र विद्यार्थी सबै सचेत हुनुपर्ने उल्लेख गरिन्।
कार्यक्रमका प्रमुख अतिथि तथा बुढानीलकण्ठ नगरपालिका सूचना प्रविधि शाखा का शाखा प्रमुख शान्तराज पौड्यालले प्रविधि मानव जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको भन्दै यसको सुरक्षित प्रयोगबारे जानकारी दिन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले “सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत विवरण सुरक्षित राख्ने, अपरिचित लिंक नखोल्ने तथा अनलाइन गतिविधिमा सतर्क रहनु अत्यन्त आवश्यक छ,” भने।
विद्यालयका प्रिन्सिपल केशवदत्त जोशीले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँगै जिम्मेवार डिजिटल नागरिक बन्न आग्रह गरे। उनले विद्यालयस्तरमै साइबर सुरक्षाबारे जानकारी दिनु समयको आवश्यकता भएको बताए।
कार्यक्रममा प्रशिक्षक द्रोण प्रजुलीले साइबर अपराधका प्रकार, अनलाइन ठगीबाट बच्ने उपाय, पासवर्ड सुरक्षा, डिजिटल गोपनीयता, साइबर बुलिङ तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए। उनले वास्तविक घटनाका उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगबारे जानकारी गराएका थिए।
कार्यक्रम संयोजक तथा पत्रकार मुकुन्द ढुंगानाले युवापुस्तामा डिजिटल पहुँच बढेसँगै सचेतना पनि उत्तिकै आवश्यक रहेको बताए। उनले प्रविधिको सकारात्मक प्रयोगमार्फत शिक्षादेखि रोजगारीसम्मका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै साइबर अपराधविरुद्ध सबै मिलेर सचेतना फैलाउनुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि यस्ता कार्यक्रमबाट आफूहरूले धेरै नयाँ जानकारी प्राप्त गरेको बताएका छन्। कक्षा १० की एक विद्यार्थीले “सामाजिक सञ्जाल प्रयोग गर्दा हुने जोखिमबारे आज धेरै कुरा थाहा पायौं, अब अनलाइनमा अझ सतर्क हुन्छौं,” भनिन्। अर्का विद्यार्थीले साइबर बुलिङ र फेक अकाउन्टको जोखिमबारे जानकारी पाउँदा आफूहरू सचेत बनेको प्रतिक्रिया दिए।
शिक्षकहरूले पनि विद्यालयस्तरमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सहभागीहरूले प्रविधिको सुरक्षित प्रयोगबारे व्यावहारिक जानकारीमूलक कार्यक्रम प्रभावकारी भएको बताएका थिए।
कार्यक्रम अन्त्यमा आयोजकले साइबर अपराध न्यूनीकरणका लागि विद्यालयस्तरबाटै डिजिटल साक्षरता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया