काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत सञ्चालित कागेश्वरी मनोहरा नगर अस्पताल मा सामान्य OPD सेवाका लागि ३५० रुपैयाँ असुलिएको विषयले व्यापक विवाद सिर्जना गरेको छ।
सरकारी अस्पतालहरू जस्तै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पताल मा सामान्य OPD शुल्क ५० देखि १०० रुपैयाँसम्म मात्रै लिइने अवस्थामा नगर अस्पतालले ३५० रुपैयाँ लिनु “जनतामाथिको सिधा अन्याय र लुट” भएको भन्दै तीव्र आलोचना भएको हो।
यस विषयमा राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना ले कडा आपत्ति जनाउँदै तत्काल शुल्क घटाउन माग गरेका छन्। उनले भने, “स्वास्थ्य सेवा कुनै व्यापार होइन, यो नागरिकको आधारभूत अधिकार हो। जनताको करबाट चल्ने सरकारी अस्पतालले यति महँगो शुल्क लिनु स्वीकार्य हुन सक्दैन।”
ढुंगानाले यसअघि १५० रुपैयाँमा उपलब्ध रहेको OPD सेवा अचानक ३५० रुपैयाँ पुर्याउनुको आधार सार्वजनिक गर्न पनि माग गरेका छन्।
“यदि यो Paying clinic वा विशेष सेवा हो भने त्यसबारे स्पष्ट सूचना दिनुपर्छ। अन्यथा यो खुला रूपमा जनतालाई ठग्ने कार्य हो,” उनले भने।
उनले उपेन्द्र कार्की नेतृत्वको नगरपालिकालाई अस्पतालको अनुगमन गरी जिम्मेवार निकायमाथि कारबाही गर्न माग गरे।
“नगरप्रमुख स्वयंले तत्काल अस्पताल अनुगमन गरी यस्तो मनपरी शुल्क बढाउने प्रशासनमाथि कडा कारबाही गर्नुपर्छ,” ढुंगानाको भनाइ छ।
उनका अनुसार, जनताको पहुँचमा सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएको नगर अस्पतालमै यस्तो मूल्यवृद्धि हुनु अत्यन्तै दुःखद र आपत्तिजनक छ।
स्थानीय बासिन्दाहरूले पनि बढेको शुल्कले सामान्य नागरिकलाई उपचारबाट वञ्चित गर्ने जोखिम बढाएको बताएका छन्। उनीहरूले हेलो सरकार लगायत सरोकारवाला निकायमार्फत समेत गुनासो उठाउने तयारी गरेका छन्।
नगर अस्पतालमा भएको OPD शुल्क वृद्धि पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने विषय बनेको छ। तत्काल मूल्य समायोजन र स्पष्ट नीति सार्वजनिक नगरे नागरिक स्तरबाट थप विरोध चर्किने संकेत देखिएको छ।
प्रतिक्रिया