काठमाडौँ । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी माधबसुन्दर खड्का ले पूर्वमन्त्रीहरू तथा कर्मचारीहरूको घरमा सुसारेका रूपमा खटाइएका सैनिक जवानहरूलाई फिर्ता बोलाउन सरकारसँग अनुरोध गरेका छन्।
प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह लाई सम्बोधन गर्दै उनले सबै सुरक्षा संयन्त्रका अवकाशप्राप्त रथि तथा वरिष्ठ अधिकारीहरू, पूर्वमन्त्रीहरू तथा निजामती प्रशासकहरूको घरमा अर्दली र ड्राइभरका रूपमा कार्यरत बर्दिधारी जवानहरूलाई तत्काल फिर्ता गरि ब्यारेक तथा कार्यालयमा फर्काउने व्यवस्था गर्न आग्रह गरेका हुन्।
खड्काले सुरक्षा संगठनका अवकाशप्राप्त प्रमुखहरूको हकमा सुरक्षा संवेदनशीलताका कारण केही अवस्थामा बर्दिधारी जवान खटाउन आवश्यक हुन सक्ने उल्लेख गरेका छन्। तर, सुसारेका रूपमा प्रयोग गर्ने अभ्यास उचित नभएको उनको धारणा छ।
उनले यस्तो कार्यका लागि सम्बन्धित सुरक्षा संगठनको कल्याणकारी कोषबाट स्वीकृति लिएर आवश्यकताअनुसार करारमा कर्मचारी भर्ना गरी व्यवस्थापन गर्न सुझाव दिएका छन्।
पत्रमा उनले प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि देखाएको गति र सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा पनि मुलुक र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया