काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्र ले सरकारको शासकीय सुधार योजनाअनुसार सार्वजनिक सेवा प्रवाह प्रभावकारी भए/नभएको अनुगमन गर्न राजधानी बाहिर नौ जिल्लामा टोली खटाएको छ।
केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्ट का अनुसार आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको पालना तथा सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले उपत्यकाबाहिर पनि छड्के अनुगमन सुरु गरिएको हो।
उनका अनुसार सेवा प्रवाहको अवस्था, योजनाका गतिविधि तथा सेवाग्राहीले पाउने सेवाको गुणस्तरबारे निगरानी गर्न टोली परिचालन गरिएको छ। साथै केन्द्रमा प्राप्त उजुरी तथा गुनासोको सम्बोधन पनि तीव्र गतिमा भइरहेको छ।
नेपाल सरकारले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ। केन्द्रले कर्मचारीको समयपालना, कार्यसम्पादन तथा सेवाग्राहीको काम समयमै सम्पन्न भए/नभएको अनुगमन गरिरहेको जनाएको छ। केही कार्यालयमा ढिलाइ वा अवरोध देखिएमा ‘फाइल ट्र्याकिङ’ समेत गरिएको छ।
अनुगमनका क्रममा भ्रष्टाचार वा गलत कार्य भेटिएमा तत्काल सुधारका लागि निर्देशन दिइने र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा जानकारी पठाइने भट्टले बताए।
केन्द्रले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सम्पूर्ण स्रोत–साधन परिचालन गरी दैनिक रूपमा मन्त्रालय, विभाग तथा सरकारी निकायमा निगरानी र छड्के अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।
प्रतिक्रिया