काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले प्रदेशगत रूपमा सांसदहरूसँग प्रत्यक्ष संवाद सुरु गर्दै समस्या र आवश्यकताहरू तीन स्पष्ट तहमा प्रस्तुत गर्न आग्रह गरेका छन्।
कोशी प्रदेशका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले छोटो र स्पष्ट रूपमा ‘टु द पोइन्ट’ प्रस्तुति दिन आग्रह गर्दै समस्या वर्गीकरणमा जोड दिएका हुन्। उनले तत्काल कार्यान्वयन गर्नुपर्ने, आगामी बजेट आउनुअघि सम्पन्न गर्न सकिने र आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने गरी तीन श्रेणीमा विषयहरू राख्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले तत्काल गर्न सकिने कामका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सकिने संकेत दिँदै काम केवल औपचारिकतामा सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको हुनुपर्नेमा जोड दिए। उनले प्राथमिकताका आधारमा योजनाबद्ध रूपमा काम अघि बढाउन यस्तो वर्गीकरण आवश्यक रहेको बताए।
सहभागी एक सांसदका अनुसार अधिकांश सांसदहरूले आफ्नो क्षेत्रका समस्या र आवश्यकताहरू प्रस्तुत गरेका थिए भने केहीले थप अध्ययन गरी विस्तृत प्रतिवेदन दिने बताएका छन्।
प्रधानमन्त्रीको यो पहललाई विकास योजनालाई व्यवस्थित, परिणाममुखी र जनकेन्द्रित बनाउनतर्फको प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया