काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले पाँच दिन म्याद थप गर्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ। सरकारी वकिलको मागअनुसार दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।
गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा दमन भएको घटनामा गठित जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि उनीहरूविरुद्ध फौजदारी मुद्दा अघि बढाइएको हो। सोही सिफारिसका आधारमा प्रहरीले शनिबार बिहान जरुरी पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई पक्राउ गरेको थियो।
अदालतमा बयानका क्रममा लेखक स्वयं उपस्थित भएका थिए भने ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल बाट भर्चुअल माध्यममार्फत उपस्थित भएका थिए।
अब अदालतको अनुमति अनुसार आगामी पाँच दिनभित्र अनुसन्धानका बाँकी प्रक्रिया पूरा गरिने प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया