काठमाडौं । भारतको भोपाल स्थित कुटुम्ब न्यायालयमा हालै एउटा अनौठो घटना सार्वजनिक भएको छ, जसले ९० को दशकको चर्चित फिल्म Judaai को कथा सम्झाइदिएको छ।
परिवारमा शान्ति कायम गर्न एक महिलाले आफ्नो वैवाहिक सम्बन्धलाई आर्थिक सम्झौतामार्फत अन्त्य गरेकी छन्। उनले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति र नगद लिएर आफ्ना श्रीमान् सधैंका लागि ‘सौता’ अर्थात् श्रीमान्को प्रेमिकाको जिम्मामा छाडेकी हुन्। न्यायिक क्षेत्रमा यो घटनालाई अहिले ‘महँगो सम्बन्धविच्छेद’ भन्दै चर्चा भइरहेको छ।
यो घटना केन्द्रीय सरकारी विभागसँग सम्बन्धित रहेको बताइएको छ। त्यहाँ कार्यरत ४२ वर्षीय पुरुष अधिकारी को आफ्नै कार्यालयमा काम गर्ने ५४ वर्षीया महिला सहकर्मीसँग प्रेम सम्बन्ध सुरु भएको थियो।
सम्बन्ध गहिरिँदै जाँदा उनले पत्नी र दुई छोरीलाई बेवास्ता गर्न थालेपछि घरमा निरन्तर विवाद हुन थाल्यो। यसले परिवारमा तनाव बढ्दै गयो।
१६ र १२ वर्षकी दुई छोरीमाथि अभिभावकबीचको विवादको गम्भीर प्रभाव परेको थियो। मानसिक दबाबमा परेकी ठूली छोरीले नै साहस देखाउँदै मुद्दा कुटुम्ब न्यायालयसम्म पुर्याएकी थिइन्।
काउन्सिलिङका क्रममा अधिकारीले स्पष्ट रूपमा भनेका थिए कि उनी पत्नीभन्दा प्रेमिकासँग नै मानसिक रूपमा खुसी छन्।
त्यसपछि पत्नीले व्यावहारिक निर्णय गर्दै छोरीहरूको भविष्य र जीवनयापनका लागि डुप्लेक्स घर र २७ लाख रुपैयाँ नगद माग राखिन्।
आश्चर्यजनक रूपमा अधिकारीकी प्रेमिकाले बिना हिचकिचाहट यो प्रस्ताव स्वीकार गरिन्। उनका अनुसार उनले परिवारलाई असहाय अवस्थामा छोड्न नचाहेकाले आफ्नो बचत खर्च गरेर सम्झौता गर्न तयार भएकी थिइन्।
कुटुम्ब मामिलाका परामर्शदाताहरूका अनुसार जहाँ भावनात्मक सम्बन्ध समाप्त हुन्छ, त्यहाँ जबरजस्ती सँगै बस्नुभन्दा सम्मानजनक रूपमा अलग हुनु राम्रो हुन्छ।
समाजलाई यो निर्णय असामान्य लागे पनि, बालबालिकाको मानसिक स्वास्थ्य र आर्थिक सुरक्षाका दृष्टिले यो कदम तार्किक मानिएको उनीहरूको भनाइ छ।
प्रतिक्रिया