काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख पर्व हो।
यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेछ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायतको पूजा गर्ने परम्परा छ।
त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्याउने चलन छ। सप्तरङ्गी टीका प्रचलित भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार कपडा, उपहार र दक्षिणा दिएर दिदीबहिनीप्रति माया र सम्मान व्यक्त गर्छन्।
दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुला गर्ने परम्परा छ। वर्षमा एकपटक मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको छ।
त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ। संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार विसं २०३५ अघि रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो। त्यसबेला दाजुभाइ वा दिदीबहिनी नहुनेहरू खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे।
विसं २०३५ पछि रानीपोखरीको मन्दिर नियमित रूपमा खुल्न थालेको थियो। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर पुनर्निर्माणपछि २०७७ सालदेखि पुनः भक्तजनका लागि खुला गरिएको हो।
भाइटीकाकै दिन नेवार समुदायले किजापूजा मनाउने गर्छन्। कुल परम्परा र स्थानीय चलनअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने गरेका छन्। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्।
भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास, सम्मान र आत्मीयता प्रकट गर्ने पर्व हो। यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
प्रतिक्रिया