काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ।
विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
मङ्गलबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। सोमबार राति पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि यस्तै मौसमी अवस्था रहने अनुमान छ।
त्यस्तै, कात्तिक २६ गते बिहीबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
कात्तिक २७ गते शुक्रबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया