काठमाडौँ–५ मा ईश्वर पोखरेलका प्राथमिकता : सुरुङमार्गदेखि सांस्कृतिक पर्यटन प्रवर्द्धनसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८२, बुधबार ०७:००

काठमाडौँ । ईश्वर पोखरेलले काठमाडौँ क्षेत्र नं ५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिँदै विकासका विविध योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले टोखा–छहरे सुरुङमार्ग निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन्। उक्त सुरुङमार्गले काठमाडौँ उपत्यका र नुवाकोट क्षेत्रबीचको यातायात सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

हाँडीगाउँको पुनरुत्थान र धार्मिक पर्यटन प्रवर्द्धन

प्रतिबद्धतापत्रमा लिच्छविकालीन राजधानीका रूपमा परिचित हाँडीगाउँको पुरातात्त्विक तथा सांस्कृतिक अध्ययन गरी पुनरुत्थान गर्ने र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी बूढानीलकण्ठ मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण गर्ने तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने योजना उल्लेख गरिएको छ।

टोखाका सम्पदा र स्थानीय उत्पादनको प्रवर्द्धन

टोखास्थित सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।

यसका साथै टोखाको प्रसिद्ध ‘चाकु’लाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।

भाषा, संस्कृति र पूर्वाधार विकासमा जोड

प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला–संस्कृति तथा तामाङ र नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइएको छ।

त्यस्तै काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिकाटोखा नगरपालिका क्षेत्रमा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन, सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई प्राथमिकतामा राखिएको नेता पोखरेलले उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply