काठमाडौँ । प्रकाश शरण महतले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३१ बुँदे चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महतले विकास, सुशासन र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै पूर्वाधार निर्माणदेखि सांस्कृतिक संरक्षणसम्मका योजना अघि सारेका छन्।
सुरुङमार्ग निर्माण पहिलो प्राथमिकता
प्रतिज्ञापत्रमा टोखा–छहरे सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ। उक्त आयोजना सम्पन्न भएमा काठमाडौँ उपत्यका र नुवाकोट क्षेत्रबीचको दूरी घट्ने, यातायात सहज हुने तथा आर्थिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरिएको छ।
पूर्वाधार र शहरी व्यवस्थापन
महतले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास, फोहरमैला व्यवस्थापन र सार्वजनिक यातायात सुधारलाई प्राथमिकतामा राखेका छन्। आधुनिक शहरी पूर्वाधार निर्माणमार्फत व्यवस्थित र स्वच्छ सहर निर्माण गर्ने लक्ष्य लिइएको छ।
शिक्षा, स्वास्थ्य र रोजगारी
शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने, युवालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहन गर्ने, सीपमूलक तालिम कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। युवाशक्तिलाई देशभित्रै अवसर सिर्जना गरी वैदेशिक पलायन न्यूनीकरण गर्ने योजना पनि समेटिएको छ।
पर्यटन र सांस्कृतिक संरक्षण
स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना महतले अघि सारेका छन्। सामुदायिक पर्यटन, होमस्टे प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा जोड दिइएको छ।
सुशासन र पारदर्शिता
महतले पारदर्शी प्रशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विकास योजनाको प्रभावकारी कार्यान्वयन र जनताको प्रत्यक्ष सहभागितामा जोड दिइएको छ।
उनले आफ्नो प्रतिज्ञापत्र कार्यान्वयनयोग्य, समयबद्ध र जनमुखी रहेको दाबी गर्दै आगामी निर्वाचनमा मतदाताको विश्वास प्राप्त गर्ने अपेक्षा व्यक्त गरेका छन्।













प्रतिक्रिया