काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका को आयोजनामा नगरभित्र मानसिक स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानसिक स्वास्थ्यका विषयमा आधारभूत जानकारी, समस्या पहिचान गर्ने तरिका, समयमै परामर्श लिने आवश्यकता तथा सहयोगका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूलाई मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न र समुदायस्तरमै सहयोगी वातावरण निर्माण गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा TPO Nepal का कार्यकारी निर्देशक डा. कमल गौतम ले सहजीकरण गर्दै मानसिक स्वास्थ्यको वर्तमान अवस्था, देखिएका चुनौती तथा सम्भावित समाधानका उपायबारे जानकारी गराएका थिए । उनले मानसिक समस्या लुकाएर राख्नुभन्दा समयमै परामर्श र उपचार लिनु आवश्यक रहेको बताए ।
त्यसैगरी नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख कुमार दाहालले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै स्थानीय तहले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, परामर्श सेवा पहुँच विस्तार तथा आवश्यक सहयोगका लागि नगरपालिका प्रतिबद्ध रहेको धारणा राखे ।
कार्यक्रमले मानसिक स्वास्थ्यप्रति समाजमा रहेको भ्रम हटाई सहकार्य, समझदारी र सहयोगको वातावरण निर्माण गर्नुपर्ने सन्देश दिएको छ ।

प्रतिक्रिया