काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको छ।
समूह ‘सी’ अन्तर्गत मंगलबार भएको आफ्नो अन्तिम खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा ऐतिहासिक जित हात पारेको हो।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा दुई जित निकालेको थियो। त्यसयता विश्वकपमा जितविहीन रहेको नेपालले १२ वर्षपछि पुनः सफलता चुमेको हो।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले ५० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए। जारी विश्वकपमा यो उनको लगातार दोस्रो अर्धशतक हो।
गुल्सन झा १७ बलमा २४ रनमा अविजित रहे। दीपेन्द्र र गुल्सनबीच चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी भएपछि नेपाल जिततर्फ अग्रसर भएको थियो।
ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन बनाए भने आशिफ शेखले २७ बलमा ३३ रन जोडे। कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए।
स्कटल्यान्डका लागि माइकल लिस्कले ३ विकेट लिए।
यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर जर्ज मुन्से र माइकल जोन्सले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए।
प्रतिक्रिया