हजारौँ फूलबीच गुलाब किन रोजाइमा पर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८२, बुधबार ०६:४६

काठमाडौँ । जीर्ण सडकबाट गुज्रिरहेको एउटा ट्रक—भित्रबाट पुरानो भए पनि बाहिरबाट दुलहीझैँ सजिएको। ट्रकको पछाडि लेखिएको एउटा कविताले जो–कोहीको ध्यान खिच्छ–

“फुल गुलाब हो, यसलाई चमेली नठान्नु।
म तिम्रो प्रेमी हुँ, तिम्रो साथी नठान्नु।”

यहाँ प्रश्न उठ्छ—ट्रक चालकले किन चमेलीभन्दा गुलाबलाई प्राथमिकता दिएका होलान् ? केवल ट्रक चालक मात्र होइन, किन सदियौँदेखि कवि, साहित्यकार र प्रेमीहरूले गुलाबलाई नै प्रेमको प्रतीक माने ?

संसारमा हजारौँ प्रजातिका फूल छन्। तर प्रेमको कुरा आउँदा गुलाब किन सबैभन्दा अघि आउँछ ? यसको उत्तर इतिहास, पौराणिक कथा र मनोविज्ञानसँग गाँसिएको छ।

प्रेमसँग गाँसिएको इतिहास

गुलाबको नाम ग्रीक र रोमन सभ्यतामा प्रेम र कामुकताकी देवीसँग जोडिन्छ। ग्रीक पौराणिक कथाअनुसार, प्रेम, सौन्दर्य र कामुकताको प्रतीक देवी एफ्रोडाइट जहाँ हिँड्थिन्, त्यहाँ गुलाब फुल्थे। यही कारण रातो गुलाबलाई प्रेम र चाहनाको प्रतीक मानिन्छ।

अर्को कथा ग्रीक देवता एडोनिससँग सम्बन्धित छ। भनिन्छ, शिकारको क्रममा जंगली बँदेलको आक्रमणबाट एडोनिसको मृत्यु भयो। जहाँ उनको रगत बग्यो, त्यहाँ फुलेका सेता गुलाब राताम्य भए। त्यसयता रातो गुलाबलाई बलिदान, जोश र गहिरो प्रेमको प्रतीकका रूपमा हेरिन्छ। ग्रीक कथनअनुसार, महान प्रेममा बलिदान र आवेग दुवै अनिवार्य हुन्छन्।

रङअनुसार गुलाबको अर्थ

गुलाब केवल फूल मात्र होइन, भावनाको भाषा पनि हो।

  • रातो गुलाब – प्रेम, जोश र समर्पण

  • पहेंलो गुलाब – मित्रता

  • सेतो गुलाब – निस्वार्थ र शुद्ध प्रेम

  • गुलाबी गुलाब – नम्रता र माफी

  • सुन्तला गुलाब – उत्साह र नयाँ सुरुवात

  • कालो गुलाब – सम्बन्धको अन्त्य

खतराको संकेत मानिने रातो रङ जब गुलाबका पंखुडीमा मिसिन्छ, त्यही रङ रोमान्टिक प्रेमको संकेत बन्छ।

मनोविज्ञान र विज्ञानको दृष्टिकोण

जापानको मिजुहो इन्फर्मेसन एण्ड रिसर्च इन्स्टिच्युटले गरेको अध्ययनअनुसार, गुलाब हेर्दा मानिसको मस्तिष्कको त्यो भाग सक्रिय हुन्छ जसले शान्ति र सन्तुलन ल्याउँछ। गुलाबको सजावट गरिएको स्थानमा बस्ने व्यक्तिहरूमा तनावको स्तर उल्लेखनीय रूपमा कम पाइएको छ।

गुलाबको सुगन्धले निद्रामा सुधार ल्याउने र मानसिक थकान घटाउने पनि अध्ययनहरूले देखाएका छन्। गुलाबमा पाइने ‘रोज अक्साइड’ ले दिमाग र शरीरलाई आराम दिन्छ। यही अनुभूतिलाई मानिसहरूले आफ्ना प्रियजनको सम्झनासँग जोड्छन्।

खानामा पनि गुलाब

राम्ररी प्रशोधन गरिएको गुलाब खानामा पनि प्रयोग हुन्छ। गुलकन्द र गुलाब जलमा ब्याक्टेरियल तथा रेचक गुण पाइन्छ, जसले शरीरलाई शान्त राख्न मद्दत गर्छ।

इतिहासमा गुलाब र प्रेम

प्रेमको प्रतीक ताजमहल निर्माण गर्ने शाहजहान मात्र होइन, उनका पिता सम्राट जहाँगीर पनि गुलाबप्रेमी थिए। आफ्नी प्रिय बेगम नूरजहाँलाई खुसी पार्न जहाँगीरले हरेक दिन दरबारमा करिब एक टन रातो गुलाब मगाउने गर्थे, जुन विशेष रूपमा कश्मीरबाट ल्याइन्थ्यो। यही समयमा गुलाब अत्तरको लोकप्रियता पनि चुलिएको मानिन्छ।

निष्कर्ष

जुनसुकै रूपक वा युग भए पनि, गुलाब सधैँ प्रेमको प्रतीक रहँदै आएको छ। त्यसैले यदि तपाईं कसैलाई विशेष महसुस गराउन चाहनुहुन्छ, कुनै सम्बन्धलाई नयाँ उचाइ दिन चाहनुहुन्छ भने—शब्द कम परे पनि रातो गुलाबले धेरै कुरा बोलिदिन्छ

प्रतिक्रिया

Leave a Reply