एडिनबर्गका तीन दाजुभाइले प्रशान्त महासागर पार गर्दै नयाँ विश्व कीर्तिमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८२, सोमबार ०७:२०

काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले कुनै बाह्य सहयोग बिना र बिनारोक प्रशान्त महासागर पार गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

जेमी, इभान र लाचलान म्याक्लिनले पेरुबाट अष्ट्रेलियासम्म १४ हजार ४८४ किलोमिटर दूरी पार गरेका हुन्। करिब १४० दिन समुद्रमा बिताएर उनीहरूले यो ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। यससँगै उनीहरू प्रशान्त महासागर पार गर्ने पहिलो टोली बनेका छन्।

यसअघि यो कीर्तिमान सन् २०१४ मा रुसी रोवर फेडोर कोन्युखोभले १५९ दिनको यात्रामा बनाएका थिए। म्याक्लिन दाजुभाइले उक्त कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन्।

बीबीसीका अनुसार, तीन दाजुभाइले यो यात्रा मेडागास्करमा सफा पानी उपलब्ध गराउने परियोजनाका लागि कोष संकलन गर्ने उद्देश्यसहित गरेका थिए। उनीहरूले मेडागास्करका करिब ४० हजार मानिसलाई सफा पानी उपलब्ध गराउने परियोजनाका लागि १.६४ मिलियन डलरभन्दा बढी रकम संकलन गरेको बताएका छन्।

यात्राका क्रममा उनीहरूले खतरनाक आँधीबेहरीको सामना गर्नुपरेको थियो। एकपटक आँधीका बेला ठूलो छालले लाचलानलाई डुङ्गाबाट समुद्रमा बगाए पनि उनलाई पुनः सुरक्षित रूपमा डुङ्गामा फर्काइएको थियो।

अष्ट्रेलियाको केर्न्स पुगेपछि परिवार र साथीभाइसँग भेट्दा उनीहरूले अहिलेको चाहना केवल पिज्जा खान र शान्तिपूर्वक सुत्न रहेको बताएका छन्।

इभान म्याक्लिनले बीबीसीसँग भने, “यो अझै पनि अलि अनौठो लागिरहेको छ। खुट्टा जमिनमा राख्न समय लागिरहेको छ, तर केर्न्समा पाएको न्यानो स्वागत अद्भुत छ।”
यस्तै, जेमी म्याक्लिनले यो यात्रा शारीरिक र मानसिक दुवै रूपमा अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै तीनै दाजुभाइ बलियो टोलीका रूपमा यो ठूलो चुनौती पार गर्न सफल भएको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply