काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)ले आफ्नो ५४औँ राष्ट्रिय दिवस ‘ईद अल इतिहाद’ को अवसरमा विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, “युएईको ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीलाई माफी दिने निर्णयका लागि नेपाल सरकार युएई सरकारप्रति आभार प्रकट गर्दछ।”
नेपाल–युएईबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र मानवीय आधारमा यो निर्णय गरिएको उल्लेख गर्दै नेपाल सरकारले त्यसको उच्च मूल्याङ्कन गरेको जनाएको छ। यस कदमले नेपाल र युएईबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनअनुसार पटक–पटक गरेको अनुरोधलाई मध्यनजर गर्दै युएई सरकारले सजाय माफीको निर्णय लिएको हो।
विज्ञप्तिमा भनिएको छ, “कुनै अन्य कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा माफी पाएका नेपाली नागरिकहरूले युएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन्।”
प्रतिक्रिया