काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ ले आफ्नो क्षेत्रभित्र शान्ति, सुरक्षा र जनधनको रक्षाका लागि विशेष सतर्कता अपनाउन सम्पूर्ण वडावासीमा अपिल गरेको छ। पछिल्लो समय चाडपर्व तथा यात्राको समयमा हुनसक्ने चोरी तथा आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्न वडा कार्यालयले १० बुँदे सचेतना निर्देशिका जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
वडाध्यक्ष सुमन तामाङले वडावासीको सुरक्षा नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताउँदै चोरी तथा अवाञ्छित गतिविधि नियन्त्रणमा नागरिक र प्रहरीको संयुक्त सजगता आवश्यक रहेको बताएका छन्।
वडाध्यक्ष तामाङले भने— “हामीले स्वच्छ, शान्त, सुदृढ र पर्यटकीय वडा निर्माणको संकल्प लिएका छौँ। तर सुरक्षा बिना समृद्धिको अनुभूति सम्भव छैन। घर छोडेर बाहिर जाँदा वा यात्रामा निस्कँदा छरछिमेक तथा प्रहरीलाई जानकारी दिने, शंकास्पद व्यक्ति तथा आवतजावतमाथि निगरानी राख्ने र सचेत रहने बानीले ठूलो सम्भावित क्षतिबाट जोगाउन सक्छ। वडा नं. ८ लाई सुरक्षित बनाउन सम्पूर्ण वडावासीलाई हातेमालो गर्न अनुरोध गर्दछु।”
झ्यालढोका बन्द गर्न नबिर्सने: घरबाट बाहिर निस्कँदा वा रातिको समयमा सबै झ्याल र ढोका राम्ररी बन्द गर्ने।
समान बाहिरबाट नदेखिने गरी राख्ने: झ्याल वा ढोकाबाट सहजै भेटिने वा देखिने गरी बहुमूल्य सरसामान नराख्ने।
यात्राको जानकारी दिने: लामो वा छोटो यात्रामा निस्कनुअघि घरबेटी तथा छिमेकीलाई अनिवार्य जानकारी गराउने।
प्रहरीलाई सोचित गर्ने: सम्भव भएसम्म आफू बाहिर जाने समय र यात्राबारे स्थानीय प्रहरीलाई समेत जानकारी दिने।
अपरिचितमाथि निगरानी: टोल वा छिमेकमा कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्त निगरानी बढाउने र सूचना दिने।
डेरावाल/भाडामा बस्नेको हेरचाह: भाडामा बस्ने परिवार यात्रामा निस्किएमा घरधनीले उनीहरूको कोठा तथा सरसामानको हेरचाह गरिदिने।
फोहोर संकलनको नाममा सावधानी: फोहोर संकलन वा अन्य बहानामा घरभित्र छिर्ने व्यक्तिबाट चोरी हुन सक्ने भएकाले सतर्क रहने।
अपरिचितले दिएको नखाने: अपरिचित व्यक्तिले दिएको कुनै पनि खानेकुरा नखाने र नछुने।
गहना लगाएर नहिँड्ने: बहुमूल्य सुनचाँदीका गरगहना धेरै लगाएर एकलै हिँडडुल नगर्ने।
तुरुन्त १०० मा फोन गर्ने: चोरी भएको थाहा पाउनेबित्तिकै वा शंकास्पद अवस्था देखिएमा तुरुन्त प्रहरीको नि:शुल्क नम्बर १०० मा सम्पर्क गर्ने।
प्रतिक्रिया