राति ढिलो खाना खानु किन खतरनाक? यस्ता छन् गम्भीर स्वास्थ्य जोखिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ माघ २०८२, सोमबार १७:३१

काठमाडौं । आजको भागदौडपूर्ण जीवनशैलीमा धेरै मानिसहरू अफिसबाट ढिलो फर्कने र राति अबेर खाना खाने (लेट–नाइट डिनर) बानीमा छन्। तर यही बानी नै आज देखिँदै आएका धेरै जीवनशैलीजन्य रोगहरूको मुख्य कारण बन्दै गएको विज्ञहरू बताउँछन्।

‘इन्टरनेसनल जर्नल अफ फुड, न्युट्रिसन एण्ड डाइटेटिक्स’ मा सन् २०२३ मा प्रकाशित एक अध्ययनअनुसार राति ढिलो खाना खानाले उच्च रक्तचाप, मोटोपना र मुटु रोगजस्ता गम्भीर स्वास्थ्य जोखिम बढ्ने देखिएको छ। अध्ययनका अनुसार लगातार राति ढिलो खाना खाँदा शरीरको पाचन प्रक्रिया सुस्त हुँदै जान्छ।

विज्ञहरूका अनुसार साना बालबालिका (बढ्ने उमेरका) बाहेक अन्य सबै उमेर समूहका लागि राति ढिलो खाना खानु हानिकारक मानिन्छ। विशेषगरी मधुमेह, मुटु रोग, मोटोपना वा रक्तचापको समस्या भएकाहरूका लागि यो जोखिम अझ बढी हुन्छ।

राति ढिलो खाना खानुका स्वास्थ्य जोखिम

राति ढिलो खानाले शरीरको प्राकृतिक ‘बायोलोजिकल क्लक’ बिगार्छ। यसले पाचन प्रणाली मात्र होइन, तौल, हर्मोन, मुटु, ब्लड सुगर र निद्रामा समेत नकारात्मक असर पार्छ।

१. तौल बढ्ने
राति शरीर विश्राम अवस्थातर्फ जाने हुँदा ढिलो खाएको खाना बोसोमा परिणत भई शरीरमा जम्मा हुन्छ, जसले मोटोपना बढाउँछ।

२. मधुमेहको खतरा
राति ढिलो खाना खाँदा रगतमा ग्लुकोजको मात्रा बढ्ने र टाइप–२ मधुमेहको जोखिम बढ्ने देखिएको छ।

३. मुटु रोगको जोखिम
ढिलो खानाले रगतमा ट्राइग्लिसराइड्स बढाउँछ, जसले मुटु रोग र इन्फ्लेमेसनको जोखिम बढाउँछ।

४. रक्तचाप बढ्ने
अनियमित खानपानका कारण रक्तचाप बढ्न सक्छ, जसले मुटुमाथि अतिरिक्त दबाब पर्छ।

५. कलेजोमा असर
अत्यधिक बोसो र चिनीले कलेजोको काममा बाधा पुर्‍याउँछ र शरीरको डिटक्स प्रक्रिया कमजोर बनाउँछ।

६. हर्मोन असन्तुलन
इन्सुलिन र मेलाटोनिनजस्ता हर्मोन गडबड हुँदा दिन–रातको चक्र बिग्रन्छ।

७. इन्फ्लेमेसन
लगातार ढिलो खानाले शरीरमा भित्री सूजन बढ्न सक्छ, जसले दीर्घकालीन रोग निम्त्याउन सक्छ।

८. पोषणको कमी
ढिलो भोक लाग्दा धेरैजसो जंक फुड खाने भएकाले शरीरले आवश्यक भिटामिन र मिनरल्स पाउँदैन।

९. स्ट्रोकको जोखिम
पाचन समस्या, एसिडिटी र मेटाबोलिजम गडबडीका कारण स्ट्रोकको जोखिमसमेत बढ्न सक्छ।

१०. खराब पाचन
राति मेटाबोलिजम सुस्त हुने भएकाले खाना राम्रोसँग पच्दैन।

११. निद्राको समस्या
शरीर खाना पचाउन व्यस्त हुँदा गहिरो निद्रा नलाग्ने र निद्राको गुणस्तर बिग्रने गर्छ।

सुत्नुभन्दा कति समयअघि खाना खाने?

विज्ञहरू सुत्नुभन्दा ३ देखि ४ घण्टा अघि डिनर गर्न सल्लाह दिन्छन्। यसले एसिडिटी, एसिड रिफ्लक्स र खराब निद्राको जोखिम कम गर्छ।

रातिको खानामा के खाने?

• कोदो/फापरको रोटी र मौसमी तरकारी
• मुगको दालको खिचडी
• तरकारी सूप र सलाद
• ओट्स (नुनिलो वा हल्का गुलियो)

के नखाने?

धेरै मसालेदार, चिल्लो, गुलियो र ढिलो पच्ने खानेकुरा रातिमा टार्नुपर्छ।

राति अबेर स्न्याक्स खाने बानीबाट कसरी बच्ने?

दिनभर सन्तुलित आहार (प्रोटिन, फाइबर र स्वस्थ फ्याट) खाएमा राति अचानक भोक लाग्ने सम्भावना कम हुन्छ।

मध्यरातमा भोक लागेमा यी हल्का स्न्याक्स छान्न सकिन्छः
• भुटेको मखाना
• बदाम, काजु, ओखर
• खजुर
• भुटेको चना
• केरा
• दही
• तातो दूध
• पोलेको पापड

यी स्न्याक्स २०० क्यालोरीभन्दा कम मात्रामा लिनु उपयुक्त हुन्छ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply