अन्तर्राष्ट्रिय मञ्चमा बुढानीलकण्ठका खेलाडी, सुश्रुत दाहाललाई नगरपालिकाद्वारा शुभकामनासहित बिदाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०८२, बिहीबार ०७:०८

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका खेलाडी सुश्रुत दाहाल अन्तर्राष्ट्रिय स्तरको FIDE World Rapid & Blitz Chess Championship मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै विदेश प्रस्थान गर्ने भएका छन्।

उक्त अवसरमा बुढानीलकण्ठ नगरपालिकाले दाहाललाई शुभकामना तथा बिदाइ कार्यक्रम आयोजना गर्दै उनको सफल सहभागिताको कामना गरेको छ। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा नगर प्रवक्ता नवराज भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठका खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न जानु नगरका लागि गर्वको विषय भएको उल्लेख गर्दै,
“सुश्रुत दाहालले खेलकुदमार्फत नगर र देशको नाम उजागर गर्ने विश्वास लिएका छौँ। उहाँको सहभागिताले अन्य युवा खेलाडीलाई पनि प्रेरणा दिनेछ,” भने।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सुश्रुत दाहालको निरन्तर मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै,
“नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्नु आफैंमा ठूलो उपलब्धि हो,” भन्दै सफलताको शुभकामना व्यक्त गरे।

त्यसैगरी नगर प्रवक्ता नवराज भट्टराईले,
“बुढानीलकण्ठका खेलाडी विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनु ऐतिहासिक उपलब्धि हो। उहाँको सफलताले नगरको पहिचान अन्तर्राष्ट्रियस्तरमा थप मजबुत बनाउनेछ,” भन्दै शुभेच्छा प्रकट गरे।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि सुश्रुत दाहाललाई उत्कृष्ट प्रदर्शन गरी नेपालको गौरव बढाउन सफल होऊन् भन्ने कामना गरेका थिए।

प्रतिक्रिया