जाडो मौसममा छालाको विशेष स्याहार: चमक जोगाउने प्रभावकारी उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८२, सोमबार ०६:११

एजेन्सी । चिसो मौसममा छालामा विभिन्न समस्या देखिनु सामान्य हो। कम आद्रता, चिसो हावा र तातोपानीको अत्यधिक प्रयोगका कारण छाला सुख्खा हुने, चिलाउने, ब्ल्याकहेड्स देखिने र प्राकृतिक चमक हराउने समस्या बढ्न सक्छ। यसबाट बच्न धेरैले कोल्ड क्रिम प्रयोग गरे पनि छालाको सही स्याहार विधि अपनाउनु अझ आवश्यक हुन्छ।

ब्युटिसियन रश्मि श्रेष्ठका अनुसार, “जाडोमा आद्रता कम हुने भएकाले छालालाई मोइस्ट र हाइड्रेट राख्न जरुरी हुन्छ। चिसो हावाले छालाको प्राकृतिक चिल्लोपन घटाउँछ, जसले गर्दा छाला सुख्खा र चिलाउने समस्या देखिन्छ।” त्यसैले यो मौसममा छालाको स्याहार–सुसार विशेष ध्यान दिएर गर्नुपर्ने उनी बताउँछिन्।

मोस्चराइजरको प्रयोग अनिवार्य

जाडोमा छालाको चमक जोगाइराख्न मोस्चराइजर अत्यावश्यक हुन्छ। अनुहार मात्र होइन, पूरै शरीरलाई मोस्चराइजर चाहिन्छ। धेरै सुख्खा छालाका लागि क्रिम बेस्ड मोस्चराइजर उपयुक्त हुन्छ। यसले छालालाई हाइड्रेट गर्नुका साथै प्राकृतिक तेल जोगाउन मद्दत गर्छ। नरिवल, क्यास्टर वा जैतुनको तेल, बटरमिल्क तथा भिटामिन ‘ई’युक्त मोस्चराइजर लाभदायक हुन्छन्।

सिरमको प्रयोग

छालालाई चिसोको असरबाट जोगाउन हाइड्रेटिङ सिरम प्रयोग गर्नुपर्छ। अनुहार धोएर सुख्खा बनाएपछि सिरम लगाउँदा छाला नरम र ताजा हुन्छ।

प्रशस्त पानी पिउनु

चिसो मौसममा पानी कम पिउने बानीले डिहाइड्रेसन गराउँछ, जसको असर सिधै छालामा देखिन्छ। त्यसैले जाडोमा पनि प्रशस्त पानी पिउनु आवश्यक हुन्छ।

फेसप्याकको प्रयोग

घरमै बनाइएको फेसप्याक प्रयोग गर्न सकिन्छ। यो मौसममा मुल्तानी माटो र बेसनले छाला अझ सुख्खा बनाउने भएकाले प्रयोग नगर्नु राम्रो हुन्छ। एलोभेरा, दूध र एभोकाडोबाट बनेको फेसप्याक उपयुक्त हुन्छ। पछिल्लो समय उपलब्ध ‘सिट प्याक’ ले छालालाई हाइड्रेट राख्न सहयोग गर्छ। सामान्य छालाका लागि सातामा एकपटक र धेरै सुख्खा छालाका लागि सातामा दुईपटक प्रयोग गर्न सकिन्छ।

मनतातो पानी प्रयोग

जाडोमा धेरै तातोपानीले नुहाउँदा छाला झन् सुख्खा हुन्छ। त्यसैले मनतातो पानीको प्रयोग उपयुक्त हुन्छ। साबुनमा भएका केमिकलले छालाको प्राकृतिक चमक नष्ट गर्ने भएकाले क्लिन्जर वा क्रिम बेस्ड बडी वास प्रयोग गर्नु राम्रो हुन्छ। अनुहार दिनमा दुईपटक मात्र मनतातो पानीले धुनुपर्छ।

दूधको प्रयोग

अत्यधिक सुख्खा छालाका लागि दूध प्रभावकारी हुन्छ। दूध अनुहारमा लगाएर हल्का मसाज गरी मनतातो पानीले धुँदा वा रातभर लगाएर बिहान पखाल्दा छाला नरम हुन्छ।

जाडोमा पनि सनस्क्रिन

सनस्क्रिन गर्मीमा मात्र होइन, जाडोमा पनि उत्तिकै आवश्यक हुन्छ। जाडोमा घाम ताप्दा पनि सूर्यका किरणले छालामा असर पुर्‍याउन सक्छन्। त्यसैले सनस्क्रिन प्रयोग गर्न नछोड्नुपर्छ। साथै, अल्कोहल बेस्ड टोनरबाट जोगिनुपर्छ।

स्वस्थ खानपान

खानपानको असर छालामा स्पष्ट देखिन्छ। जाडोमा छाला स्वस्थ र चम्किलो राख्न स्ट्रबेरी, अंगुर, ब्लुबेरी, चेरीजस्ता फलफूल सेवन गर्नु राम्रो हुन्छ। यी फलमा प्रशस्त पोषक तत्व र पानीको मात्रा हुने भएकाले छाला नरम र स्वस्थ रहन्छ।

नियमित सरसफाइ

जाडोमा पनि दैनिक छालाको सरसफाइ आवश्यक हुन्छ। बिहान र बेलुका अनुहार सफा गर्नुपर्छ। हात, खुट्टा र ओठको स्याहारमा पनि ध्यान दिनु आवश्यक छ। गुणस्तरीय मोस्चराइजर, नाइट क्रिम र लिपबामको नियमित प्रयोगले छालालाई जाडोभरि मुलायम र स्वस्थ राख्न मद्दत गर्छ।

प्रतिक्रिया