काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारलाई मर्यादित, स्वच्छ र खर्चिलो देखिने अभ्यासबाट मुक्त बनाउन नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको प्रस्तावित आचारसंहितामा प्रचारप्रसारका क्रममा झण्डा, जुलुस र प्रचार सामग्री प्रयोगमा कडाइ गर्ने व्यवस्था समेटेको हो।
प्रस्तावित आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा झण्डा मात्र प्रयोग गर्न पाइनेछ। आवश्यकताभन्दा बढी झण्डा प्रयोग गरी दुरुपयोग नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ।
आयोगले उम्मेदवार वा दलको कार्यालयमा तीन बाइ चार फिट नापको साइनबोर्ड वा कपडामा बनाइएको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने व्यवस्था गरेको छ। तर, दलको प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ।
प्रचार सामग्रीका रूपमा राजनीतिक दल वा उम्मेदवारको नाम र चुनाव चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ। घरदैलो कार्यक्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी हुन नपाइने व्यवस्था पनि आचारसंहितामा उल्लेख गरिएको छ। साथै, प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित जान नपाइने व्यवस्था गर्न लागिएको छ।
अनलाइन र डिजिटल माध्यममा पनि कडाइ प्रस्ताव गरिएको छ। आयोगका अनुसार अनलाइन, वेबपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मल डिस्प्ले, कल सेन्टर, बैंकका एटिएम तथा काउन्टर, सडक नाटकजस्ता माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न पाइने छैन। तर, दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेबपेजमा भने प्रचार सामग्री राख्न सक्नेछन्।
यसैगरी दलको झण्डा वा उम्मेदवारको चुनाव चिन्हको तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न नपाइने, कुनै पनि प्रकारको भित्तेलेखन गर्न नहुने र चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका सवारी साधन प्रयोग गरी र्याली वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
निर्वाचन आयोगले यी व्यवस्थाहरू निर्वाचन प्रक्रियालाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले प्रस्ताव गरिएको स्पष्ट पारेको छ।
प्रतिक्रिया