काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीहरूले आयोगको कार्यअवधि एक महिना थप गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार जाँच प्रक्रिया अझ प्रभावकारी र निष्कर्षमुखी बनाउन समय अपुग भएकाले म्याद थपको आवश्यकता औँल्याइएको हो।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको जानकारी दिँदै, अर्को साता विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाइने बताए। उनले घटनासम्बन्धी तथ्य र प्रमाण संकलन अन्तिम चरणमा पुगेको जनाउँदै, सबै पक्षको धारणा सुनेर निष्पक्ष निष्कर्ष निकाल्ने तयारी भइरहेको स्पष्ट पारे।
स्मरणीय छ, मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार गत भदौ २३ र २४ गते भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले घटनाको पृष्ठभूमि, कारण र त्यससँग जोडिएका जिम्मेवार पक्षहरूको पहिचान गर्दै प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।
प्रतिक्रिया