काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूह असहज बन्दै गएको छ। लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरू नै पदाधिकारी सूचीप्रति असन्तुष्ट हुँदै स्वतन्त्र वा विपक्षी कित्ताबाट उम्मेदवारी दिन थालेपछि प्रतिस्पर्धा पेचिलो बन्दै गएको हो।
महासचिवका दाबेदार उपमहासचिव प्रदीप ज्ञवालीलाई ओलीले उक्त पद नदिएपछि विवाद सुरु भएको हो। ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने निर्णय गरेपछि ज्ञवाली असन्तुष्ट बने। उनलाई उपाध्यक्षमा समेट्ने प्रयास भए पनि ज्ञवालीले महासचिवबाहेक अन्य पदमा नउठ्ने अडान लिए। अन्ततः उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्, जसलाई ओली प्यानलका लागि ठूलो झट्काका रूपमा हेरिएको छ।
ओली प्यानलबाट अन्य नेताहरू पनि अपेक्षित जिम्मेवारी नपाएपछि अलग्गिन थालेका छन्। उपाध्यक्षको आकांक्षा राखेका रघुजी पन्त स्वतन्त्र उम्मेदवार बनेका छन्। यसैगरी अग्नि खरेल, लालबाबु पण्डित, राजेन्द्र गौतम र भीमप्रसाद आचार्यले पनि पदाधिकारीमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
ओलीका निकट मानिने कृष्णगोपाल श्रेष्ठ र गोकुल बाँस्कोटा भने ईश्वर पोखरेल पक्षमा खुलेका छन्। विगतमा ओलीको कट्टर समर्थन गर्दै आएका श्रेष्ठ अहिले सचिव पदका उम्मेदवार बनेका छन् भने बाँस्कोटा पनि पोखरेल प्यानलबाट मैदानमा उत्रिएका छन्।
प्यानल राजनीतिप्रति असन्तुष्टि जनाउँदै भीम आचार्यले भने, ‘योगदान र क्षमताका आधारमा जिम्मेवारी नदिइएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य भएँ।’ उनले चाकडी र दलाली नगर्ने स्वभावका कारण आफू प्यानलमा नपरेको दाबीसमेत गरे।
संस्थापन पक्षबाट लगातार विद्रोह भइरहँदा ईश्वर पोखरेल समूह भने उत्साहित देखिएको छ। ओली प्यानलमै बागी उम्मेदवारहरू उभिनुले महाधिवेशनको परिणाम कता मोडिन्छ भन्ने विषय थप चासो र चर्चाको केन्द्रमा पुगेको छ।
प्रतिक्रिया