राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीलाई ‘इन्टरनेशनल अम्बेडकर अवार्ड’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०८२, सोमबार ०६:३२

काठमाडौँ ।  राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटी लाई सन् २०२५ को “International Ambedkar Award” प्रदान गरिएको छ।

बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य अकादेमीराजेन्द्र भवन ट्रस्ट द्वारा आयोजित ५५औँ राष्ट्रिय विजय दिवस–२०२५ को अवसरमा भारतको नयाँ दिल्लीस्थित राजेन्द्र भवन मा सम्पन्न विशेष समारोहबीच पुर्कुटीलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा भारतका पूर्व लोकसभा अध्यक्ष डा. मीरा कुमार प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै समाजकल्याण मन्त्री, पूर्व केन्द्रीय मन्त्रीहरू, सांसदहरू, राष्ट्रिय स्तरका नेताहरू, सामाजिक अभियन्ता, साहित्यकार तथा विभिन्न देशबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पुर्कुटीले यो सम्मान व्यक्तिगत उपलब्धिमात्र नभई सम्पूर्ण नेपाली दलित समुदायको प्रतिनिधित्व, आवाज र सम्मान अन्तर्राष्ट्रिय मञ्चमा स्थापित भएको गर्विलो क्षण भएको बताए। उनले दलित समुदायले शताब्दीयौँदेखि भोग्दै आएको पीडा, संघर्ष र योगदानलाई सीमापारबाट स्वीकार गरिएको अनुभूति भएको धारणा व्यक्त गरे।

सो अवसरमा राष्ट्रिय दलित आयोगको तर्फबाट मन्तव्य प्रस्तुत गर्दै पुर्कुटीले दक्षिण एसियाली मुलुकहरूमा दलित समुदायले भोग्दै आएको जातीय भेदभाव, सामाजिक बहिष्कार, आर्थिक शोषण र हिंसाका स्वरूपहरू एकअर्कासँग मिल्दोजुल्दो रहेको उल्लेख गरे। दलितमाथिको अन्याय कुनै एक देशको मात्र नभई सम्पूर्ण मानवताको साझा चुनौती भएको उनले बताए।

उनले नेपाल सरकारले संविधान २०७२ मार्फत जातीय छुवाछुत अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता जनाएको, छुवाछुत तथा भेदभाव (कसूर तथा सजाय) ऐन, २०६८ लागू गरिएको तथा राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गका रूपमा स्थापना गरिएको प्रसङ्ग उल्लेख गरे। यद्यपि, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक समानता तथा दलित महिलामाथि हुने दोहोरो उत्पीडनजस्ता चुनौती अझै विद्यमान रहेको उनले औँल्याए।

पुर्कुटीले दलित अधिकारका लागि दक्षिण एसियाली मुलुकहरूबीच सहकार्य, अनुभव आदान–प्रदान र ऐक्यबद्धता विस्तार गर्नुपर्ने आवश्यकता मा जोड दिए। साथै साहित्य, कला र सांस्कृतिक आन्दोलनले दलित चेतना निर्माणमा खेलेको भूमिकाको पनि प्रशंसा गरे।

मन्तव्यको अन्त्यमा उनले राष्ट्रिय दलित आयोगको तर्फबाट तीन प्रतिबद्धता व्यक्त गरे—
कानुनी तथा न्यायिक प्रणालीलाई प्रभावकारी बनाउने,
दलितमाथि हुने हिंसा र भेदभावप्रति शून्य सहनशीलता अपनाउने,
र समावेशी तथा समानतामूलक समाज निर्माणका लागि निरन्तर सक्रिय रहने।

कार्यक्रमले भारत, नेपाल लगायत विश्वभरका दलित समुदायबीच ऐक्यबद्धता सुदृढ गर्दै अधिकार, सम्मान र समान अवसरको साझा यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply