एनपिएल दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, लुम्बिनी लायन्स च्याम्पियन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०८२, आईतवार ०६:५२

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

लुम्बिनी लायन्सलाई एनपिएलको दोस्रो संस्करणको च्याम्पियन बनाउने क्रममा अलराउन्ड प्रदर्शन गरेका रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्। उनले प्रतियोगिताका १० खेलमा बलिङतर्फ १० विकेट लिनुका साथै ब्याटिङतर्फ २६७ रन बनाएका थिए।

सर्वोत्कृष्ट खेलाडी बनेबापत रोहितले एक थान ओमोडा–जाइको जे–५ कार प्राप्त गरेका छन्। यस्तै, प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटरका रूपमा उनले एक थान पल्सर मोटरसाइकल समेत पाएका छन्।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए। उनले पनि एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछाने ले पनि पल्सर मोटरसाइकल प्राप्त गरे।

रेडबुलद्वारा प्रदान गरिएको ‘इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ को उपाधि भने सुदूरपश्चिमका बलर अभिनाश बोहरा ले हात पारे। उनले दुई लाख रुपैयाँ प्राप्त गरेका छन्।

एनपिएल दोस्रो संस्करणको फाइनल खेलमा लुम्बिनी लायन्सले आज सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

प्रतिक्रिया

Leave a Reply