बुढानिलकण्ठ, २४ मङ्सिर । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ ले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवसको विशेष अवसरमा वडा भित्र सक्रिय ८ जना स्वास्थ्य स्वयंसेविकाहरूलाई मायाको चिनो तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा अप्सरा आले मगर, विन्दु श्रेष्ठ, सुदिना लामा, लक्ष्मी अधिकारी, देवकी खरेल, लक्ष्मी श्रेष्ठ, रमिला खड्का र मायादेवी पाठक रहेका छन्।
कार्यक्रम वडा कार्यालय चपली घुम्तीको सभाहलमा आयोजित गरिएको थियो। वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सम्मानित स्वयंसेविकाहरूलाई पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा वडा सदस्यहरू पार्वती श्रेष्ठ, राम विनोद लामिछाने, राजकाजी श्रेष्ठ, वडा सचिव दिपक विषि, जनस्वास्थ्य निरीक्षक रेनुका ढकाल र समाजसेवी ज्ञानु कार्की थापाको समेत उपस्थिति रहेको थियो।
वडाध्यक्ष श्रेष्ठ, वडा सदस्य लामिछाने र जनस्वास्थ्य निरीक्षक ढकालले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान र स्वस्थ समुदाय निर्माणमा उनीहरूको भूमिका महत्वपुर्ण रहेकोमा जोड दिएका थिए।
यो अवसरमा “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने नाराका साथ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको थियो।
प्रतिक्रिया