कागेश्वरी मनोहरा । दक्षिण–पूर्वी एशियाली PHC Oriented स्वास्थ्य प्रणालीको चौथो वार्षिक क्षेत्रीय बैठकका सहभागी भारत, थाइल्यान्ड, श्रीलङ्का सहित १२ मुलुकका प्रतिनिधिहरूले आज कागेश्वरी मनोहरा नगर अस्पतालको समग्र सेवा प्रवाह अवलोकन भ्रमण गरेका छन्।
अस्पतालमा आयोजित स्वागत कार्यक्रममा कार्यकारी निर्देशक श्री रामप्रसाद पौडेलले खादा लगाएर प्रतिनिधिहरूलाई आतिथ्य प्रदान गर्दै, अस्पतालले अपनाउँदै आएको असल अभ्यासका कारण आम नागरिकले गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा पाउँदै आएको जानकारी गराए। उनले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानले स्वास्थ्य सेवा प्रणालीका कमी–कमजोरी पहिचान गर्न तथा सुधारतर्फ अघि बढ्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
प्रतिनिधिहरूले अस्पतालको व्यवस्थापन प्रणाली, सरसफाइ, सेवाग्राहीमैत्री वातावरण, छरितो तथा प्रभावकारी सेवा प्रवाह, प्रयोगशाला सेवाको स्तरीयता, preventive र curative सेवाको एकीकृत मोडेल, तथा स्वास्थ्य बीमा कार्यक्रमको सफल कार्यान्वयनप्रति विशेष प्रशंसा व्यक्त गरे।
यस्तै, FCHV हरूको समुदायसँग जोडिएर गरिएको सक्रिय कामले स्थानीय स्वास्थ्य सेवामा पुर्याएको योगदानलाई पनि प्रतिनिधिहरूले उच्च मूल्यांकन गरेका छन्।
अस्पताल मुख्य रूपमा प्राथमिक स्वास्थ्य सेवामा केन्द्रित भए पनि, नगरपालिकाले स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिँदै स्रोत–साधन व्यवस्थापन तथा सेवा सुधारमा देखाएको प्रतिबद्धता उदाहरणीय रहेको सहभागीहरूको धारणा थियो।
कार्यक्रममा मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनामिका सिंह ले PPT मोडेलको प्रयोगशाला सेवा, comprehensive health delivery system, र अस्पतालको एकीकृत सेवा ढाँचाबारे विस्तृत प्राविधिक प्रस्तुति दिनुभयो।
अन्त्यमा, अस्पताल व्यवस्थापन पक्षले भ्रमणमा सहभागी सबै १२ मुलुकका प्रतिनिधिहरूप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दै, प्राप्त सुझाव र अनुभवलाई भावी सेवा सुधारमा मार्गदर्शक बनाइने प्रतिबद्धता जनायो।
प्रतिक्रिया