काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–१० स्थित नगर अस्पतालमा १५ सैय्यासहित आधुनिक प्रसूति सेवा औपचारिक रूपमा सुरु गरिएको छ। बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री अमनकुमार मास्केले २०८२ मंसिर २२ गते सोमबार आयोजित विशेष समारोहबीच सेवाको उद्घाटन गर्नुभयो।
उद्घाटनपछि मन्तव्य राख्दै मन्त्री मास्केले मातृ–शिशु स्वास्थ्य मानव विकासको मुख्य सूचक भएको उल्लेख गर्दै, प्रसूति सेवा विस्तार नगरवासीका लागि ठूलो उपलब्धि भएको बताए। स्वास्थ्यकर्मीले चुनौतीपूर्ण अवस्थामा निरन्तर सेवा प्रदान गर्दै आएको भन्दै उहाँले स्वास्थ्यकर्मीलाई थप सेवा–सुविधा र प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशसभाकी सांसद मीना पराजुलीले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार हुनु समाजकै समग्र विकाससँग प्रत्यक्ष जोडिएको बताइन्। उनले प्रसूति सेवा निरन्तर गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजान नगर अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
उद्घाटन समारोहमा बागमती प्रदेशका माननीय मीना पराजुली विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष श्रीमती अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौला, संघ, प्रदेश तथा स्थानीय तहका स्वास्थ्यसम्बन्धी निकायका प्रतिनिधि, विभिन्न नगर अस्पतालका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्य अधिकारी, सञ्चारकर्मी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुआत सबै आमन्त्रित अतिथिहरूको आसन ग्रहण र राष्ट्रिय गानबाट गरिएको थियो।
नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा उपप्रमुख अनिता लामाको स्वागत मन्तव्यसँग कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रमको सञ्चालन मीनराज खड्काले गरेका थिए। स्वागत गीत लोकगायिका राधिका ढकालले प्रस्तुत गरेकी थिइन्।
अस्पतालका प्रमुख डा. सुधांशु झा, वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, विभिन्न पालिकाका जनप्रतिनिधि, चिकित्सक, जनस्वास्थ्य विशेषज्ञ, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अस्पतालको कार्यसम्पादन, सेवा विस्तार र भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलका अनुसार, नगर अस्पताल २०८१ वैशाख १ गतेदेखि सेवा सञ्चालनमा आएको हो। सोही वर्ष भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो। दैनिक करिब २०० जनाले सेवा लिने यस अस्पतालमा हालसम्म ३९ हजार ८४३ भन्दा बढी सेवाग्राही उपचार सेवा प्राप्त गरिसकेका छन्।
हाल ७१ जनाको दरबन्दी रहेको अस्पतालले चालु आर्थिक वर्ष २०८२/८३ मा रु. १ करोड ८० लाख ९९ हजार ३५७ आम्दानी गरेको पनि पोखरेलले बताए।
आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको १५ सैय्याको आधुनिक प्रसूति सेवाबाट नगरवासी गर्भवती महिला, सुत्केरी आमा तथा नवजात शिशुले नजिकैबाट सुरक्षित, सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिका तथा बुढानीलकण्ठ नगर अस्पताल सञ्चालन समितिको संयोजनमा गरिएको यो विशेष उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतिक्रिया