कांग्रेसका महामन्त्री गगन थापाको स्पष्टिकरण : संसद् पुनर्स्थापनाको रिट पार्टीले नभई व्यक्तिगत रूपमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०८२, सोमबार ०६:२६

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतमा दायर गरिएको संसद् पुनर्स्थापनासम्बन्धी रिट पार्टीको आधिकारिक तर्फबाट नभएको स्पष्ट पारेका छन्।

आइतबार प्रमुख सचेतकसहित केही सचेतकहरूको हस्ताक्षरमा तयार गरिएको रिट पार्टीकै तर्फबाट दायर गरिएको दाबी संसदीय दलका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले गरेका थिए।

तर, महामन्त्री थापाले भने उक्त रिट नेपाली कांग्रेस वा संसदीय दलको आधिकारिक निर्णय नभई व्यक्तिगत पहलमा दायर भएको बताए। उनले कांग्रेस केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरिसकेको र पार्टी त्यही निर्णयमा अडिग रहेको पुनः दोहोर्याए।

थापाले भने,
“कांग्रेसको बैठकमा पुनर्स्थापनामा जानुपर्छ भन्ने आवाज पनि उठ्यो, चुनावमा जानुपर्छ भन्ने पनि भयो। यो रिट पुनर्स्थापनाको पक्षमा रहेका व्यक्तिहरूको प्रतिनिधित्व मात्र हो।”

उनका अनुसार कांग्रेसले केन्द्रीय समितिको बैठकमा संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका सार्वजनिक सरोकारका रिटबारे अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरिसकेको छ।

यससँगै, कांग्रेसभित्र रिट दायरको विषयमा उत्पन्न भएको अन्योलका बीच पार्टी नेतृत्वको आधिकारिक धारणा एकपटक फेरि स्पष्ट भएको छ।

प्रतिक्रिया

Leave a Reply