काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–६ ले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी सीता तामाङ र सन्दीप राईलाई विशेष सम्मान गरेको छ।
कोरियाको ग्येर्योग चुन्ग्नाममा सम्पन्न “१०औँ एमबीसी कप अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनशिप” मा स्वर्ण पदक जित्ने तामाङ र पाकिस्तानको इस्लामाबादमा आयोजित South Asia Regional Tournament Championship मा रजत पदक हासिल गर्ने राईलाई वडा कार्यालयमा आयोजित कार्यक्रममा जनही २० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष नवराज लामा, वडा सदस्य प्रेमबहादुर खड्का, वडा सचिव चन्द्रप्रभा उपाध्याय, अभिभावक तथा खेलकुदप्रेमीहरूको उपस्थिति रहेको थियो।
वडाध्यक्ष लामाले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गर्ने यी खेलाडीहरूको योगदान महत्वपूर्ण रहेको बताए। उनले भने, “यस्ता प्रतिभावान युवा खेलाडीहरूलाई निरन्तर प्रोत्साहन र सम्मान आवश्यक छ। भविष्यमा आउने बालबालिकाले पनि उनीहरूको सफलताबाट प्रेरणा लिनेछन्।”
स्वर्ण–रजत पदक विजेताहरूले प्रदान गरिएको सम्मानप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम चम्काउने प्रतिवद्धता व्यक्त गरे।
प्रतिक्रिया